काठमाडौँ, साउन २८ गते । 

गाईजात्रा अर्थात नेवाः समुदायमा'साःपारु' । 'साःपारु' काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइन्छ । 'साःपारु' नेपाल सम्बतअनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ ।

वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको 'साःपारु' पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । यस्तै, नेपाली समाजमा 'साःपारु' व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । 'साःपारु' मा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् ।

यस दिन भजन कीर्तन पनि गरिन्छ । ऐतिहासिक प्रमाणअनुसार पुत्रशोकले विहृवल भएका आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा 'साःपारु' निकाली सहर परिक्रमा गराउनु आज्ञा दिनुभएको थियो ।

यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम गराउने आदेशसँगै यो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ । पितृको सम्झनामा नेवाः समुदायले यो जात्रा मनाउने गर्दछन् । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि साःपारु पर्व मनाइन्छ ।

हिन्दुधर्मअनुसार यस पर्वका बारेमा अर्को पनि जनविश्वास रहेको पाइन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा साःपारु निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने भन्ने मानिन्छ । यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाईने चलन छ । साःपारुका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने गरिन्छ ।

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठकाअनुसार अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्व दिएको पाइन्छ । साः अर्थात् गाई, पारु भन्नाले प्रतिपदा । प्रतिपदाको दिन मनाउने कारण साःपारु भनिएको हो । मानिसलाई सभ्यताको संसारमा पाइला टेकाउन गाईको ठूलो योगदान रहेको छ । उहाँ भन्नुहुन्छ, “लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ ।

मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्व पनि बढेको थियो । आजको दिनलाई वर्षभरिमा मरेका आफन्तहरुको मुक्तिको लागि मनाइने जात्रा पनि भनिन्छ । मरेकाहरुको लागि यस दिन गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगत आत्माहरू सजिलैसँग स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास पनि छ ।

उहाँले ६०० वर्षअघिको गोपालराज वंशावलीमा ’साःयात’ भन्ने शब्द उल्लेख गरिएको भन्दै ’सा’को अर्थ गाई र ’यात’ को अर्थ जात्रा भएको उल्लेख गर्नुभयो । त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको उहाँको भनाइ छ ।

भक्तपुरमा पनि साःपारुका छुट्टै रौनक र आकर्षण छ । विभिन्न सांस्कृतिक बाजा खिँ, धिमे, तं, भुस्याः बाजाका साथ ताहामच्चासँगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । “एउटा धार्मिक आस्था के छ भने गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता छ”, उहाँ भन्नुहुन्छ, “भक्तपुरमा केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउने चलन छ ।

भक्तपुरमा सापारुको दिन र त्यस पछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङगात्मक नाटक सांस्कृतिक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट सापारु शुरु हुन्छ भने बेलुका पख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुने संस्कृतिविद् श्रेष्ठले बताउनुभयो । वर्षभरिमा कति मानिस मरे भन्ने थाहा हुने कारण यसलाई मृत्य गणनााको उत्सव पनि भन्न मिल्ने उहाँले बताउनुभयो ।

-गोरखापत्र