तनहुँ, भाद्र ८ गते । 

नायक पूर्णविक्रम (पल शाह) को जबरजस्ती करणी मुद्दाको आज नवलपुरमा पेसी तोकिएको छ । यसैगरी भदौ १५ गतेको लागि तनहुँ जिल्ला अदालतमा तोकिएको छ । नवलपुर जिल्ला अदालतमा भदौ ८ र तनहुँ जिल्ला अदालतमा भदौ १५ गते लागि पेसी तोकिएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा हुनुहुन्छ । अदालतद्वारा प्रमाण बुझ्नको लागि बुधबार पेसी तोकिएको शाहको पक्षबाट वकालत गर्नु भएका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो । 

नवलपुरमा घटना विवरणका मानिसहरुसँग बुझ्न बाँकी रहेकोले पेसी तोकिएको अधिवक्ता वाग्लेले बताउनुभयो । जाहेरीवाला, साक्षीहरु, पीडित भनिएको लगायत घटना विवरणसँग सम्बन्धित मानिसहरुसँग बुझ्ने काम हुने उहाँले जानकारी दिनुभयो ।

तनहुँ अदालतमा भने यी सबै काम पूरा भईसकेको वरिष्ठ अधिवक्ता वाग्लेले बताउनुभयो । तनहुँ अदालतले अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने वाग्लेले बताउनुभयो । 

गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनु भएको थियो । 

शाहविरुद्ध नवलपुरमा पनि जबरजस्ती करणी गरेको भनि अर्को जाहेरी परेको थियो । उक्त अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुग्नु भएको थियो । 

शाहले थुनामुक्त हुनका लागि दिएको निवेदनमा तनहुँ जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नेगरी दिएको आदेश कानुनसम्मत नभएको, अदालतमा रहेको मिसिल र तथ्यगत प्रमाणलाई वेवास्ता गरिएको आदि कारणबाट आफू थुनामुक्त भई साधारण तारेखमै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरिएको छ । 

पहिले बलात्कार गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलत्कार हैन भनि बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ । शाहलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने भदौ १५ गते फैसला आउन सक्ने बताइएको छ ।  

शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न चैत १८ गते र वैशाख १३ गते उच्च अदालत पोखरा जानु भएको थियो । 

बलात्कारका मुद्दामा अभियुक्त बनाइएका पल शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्नु भएको छ । तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतको थुनामै पठाउने आदेशविरुद्ध शाहले गत उच्च अदालत पोखरामा निवेदन दर्ता गराउनु भएको थियो  । उच्च अदालत पोखराले थुनामै राख्न आदेश दिएको थियो । 

-गोरखापत्र