बुढानीलकण्ठ नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ का लागि नीति, योजना, कार्यक्रम तथा सुझाव संकलन तिब्र रुपमा भइरहेको छ । नगरपालिकाका विभिन्न सम्बन्धित तथा विषयगत क्षेत्रहरुलाई समेटी नगरपालिकामा योजना तथा कार्यक्रमहरु संकलन भइरहेको हो ।

नगरपालिकाका प्रत्येक वडाबाट समावेश हुने गरि नगरपालिकाका प्रमुख, उप प्रमुख, नगरपालिकाका नगर सभा सदस्यहरु महिलाहरु, युवा, पत्रकारहरु, विभिन्न विषयगत विज्ञ, विषयगत समितिहरु, पूर्व जनप्रतिनिधीहरु, विभिन्न राजनैतिक दलहरुका अध्यक्ष/ उपाध्यक्ष तथा प्रतिनिधी, उद्योग व्यवसायी तथा नगरपालिकाको आर्थिक समिति, नगरपालिकाभित्र सञ्चालित सामुदायिक, संस्थागत, निजि तथा अन्य विद्यालयहरुका प्रधानाध्यापकहरु, स्वास्थ्य क्षेत्र तथा स्वास्थ्य विज्ञहरु, राजश्य परामर्श, नगरपालिकाको सामाजिक विकास समिति समेत नगरपालिकाका सम्बन्धित शाखा तथा महाशाखा प्रमुख समेतको उपस्थितिमा छलफल भइरहेको छ । 


विषयगत रुपमा भइरहेको सुझाव संकलनमा उपस्थितहरुद्वारा आफ्नो क्षेत्रगत विषयवस्तुहरुबारे समस्या, गुनासो तथा सुधारिनुपर्ने विषयहरु प्रस्तुत गरिएका छन् ।

नगरपालिकाबाट प्रदान गरिने सेवा, हालसम्म गरिएका कार्यक्रम, योजना तथा आयोजनाहरुको प्रगति तथा पारदर्शिताका विषयमा चर्चा भएका छन् । 

नगरपालिकाको कार्यपालिका भवनमा सञ्चालित कार्यक्रममा विशेष गरि शिक्षा क्षेत्रलाई प्रविधीमैत्री, खेलकुदमैत्री तथा व्यावहारिक ज्ञानलाई प्राथमिकतामा राख्नुपर्ने जनाइएको छ । त्यस्तै नगरपालिकाका सडक बत्ति, सिसिटिभी तथा तारहरुको व्यवस्थापन, लगायत उक्त कार्यहरुलाई समयसमयमा मर्मत संभारको गतिविधीलाई जोड दिइनुपर्ने समेत जनाइएको छ ।


नगरपालिकाले प्रदान गर्दै आइरहेका तालिम तथा सीप विकास सम्बन्धी कार्यक्रमहरुलाई वडागत बाट नगरपालिका स्तरमै केन्द्रिकरण गरि विषयगत रुपमा लक्षित वर्ग तथा समुहलाई कुनै पनि एक मात्र (आधारभूत तथा एडभान्स) तालिम प्रदान गरि परिपक्व बनाउनुपर्ने धारणा छलफलमा प्रस्तुत गरिएका छन् ।      

स्वास्थ्य तर्फ नगरपालिकाभित्रका स्वास्थ्य विज्ञहरुसँग भएको विषेश छलफल मार्फत नगरपालिकाको पछिल्लो नीति तथा योजना कार्यक्रम पुस्तकमा उल्लेखित स्वास्थ्य नीतिका विषयहरुमा छलफल गरिएको थियो । उक्त बुँदाहरुसँगै नगरपालिका खानपान तथा स्वास्थ्य नीति निर्माण तथा कार्यान्वयन लगायत अनुगमनको पाटोलाई ध्यानमा राखिनुपर्ने जनाइएको छ ।   

त्यस्तै भौतिक संरचना, भू-उपयोग, सार्वजनिक जग्गा अतिक्रमण, प्लटिङ्ग, खोला तथा सम्पदाहरुको संरक्षण लगायतका विषयमा रणनीति तयार गरि कडाईका साथ कार्यान्वयन गरिनुपर्ने जनचासोको विषय रहेको छ ।

त्यस्तै नगरपालिकाका कृषि उत्पादन, नगरपालिकामा उद्योग देखि नगरपालिकाका विद्यार्थी, युवा, तथा रोजगारीको खोजिमा रहेका व्यक्तिहरु, विज्ञहरु लगायतलाई जोड्ने 'शैक्षिक हब' तथा एकिकृत सेवाका लागि भवन, 'incubation center' लगायतका संरचनाहरु बनाइनका लागि समेत जोड दिइएको छ ।  

उक्त छलफल तथा सुझाव संकलनको कार्यक्रमले आगामी आर्थिक वर्षका लागि नीति निर्माण तथा योजनाहरु निर्माणका लागि सहयोग मिलेको छ नगरपालिका प्रमुख मिठाराम अधिकारीले जनाउनुभयो। त्यस्तै नगरपालिकाका हरेक गतिविधीहरुमा सबै नागरिकहरुलाई संलग्न गरि लैजान तथा समस्याहरुलाई समाधानका लागि नगरपालिका सधै प्रतिवद्ध रहेको प्रमुख अधिकारी बताउनुहुन्छ ।  नगर वासी हरेकको जनचासोमा रहेको नगरपालिकाभित्रका सार्वजनिक जग्गाको संरक्षणका लागि नगरपालिकाका प्रमुख अधिकारीले जनप्रतिनिधीहरु तथा नगरवासी सबैको समन्वयमा यहि आ.व.बाट कार्य शुरुवात गर्नेमा आफू प्रतिवद्ध रहेको जनाउनुभएको छ ।


नगरपालिकाको आर्थिक वृद्धि तथा व्यवसायमैत्री उद्योग सञ्चालनका लागि पहल गरिनुपर्ने माननिय गगनकुमार थापाले बताउनुभयो । स्थानियतहका कुनैपनि विकासका गतिविधी, सुशासन तथा नगरपालिकाको विकासका लागि जनप्रतिनिधीहरुबिचको सहकार्य तथा समन्वय महत्वपुर्ण रहने मा. थापा बताउनुहुन्छ । साथमा सारवजनिक यातायातको सहि व्यवस्थापन तथा बाटो निर्माण गरिँदा पैदल यातरीहरुका लागि फुटपाथको समेत उचित व्यवस्था गरि निर्माण गरिनुपर्ने जनाउनुभएको छ । 

नगरपालिकाभित्रका मुख्य तथा अन्य शाखा सडकहरु जोड्नका लागि बाटो कालोपत्रे तथा ढलान गरिने क्रम तथा भौतिक विकासका योजनामा ढलानको क्रमलाई रोकि बाटो कालोपत्रे गर्नमा बढि जोड दिनुपर्ने माननिय सांसद प्रदिप पौडेलले बताउनुभएको छ। त्यस्तै ढलको पुनिर्माण तथा मंगालहरुको मर्मत गरिनुपर्नेमा समेत ध्यानाकरष्ण गराउनुभएको छ । त्यस्तै पर्यटन तर्फ शिवपुरी राष्ट्रिय निकुञ्जमा पैदलमार्ग निर्माण, बुढानीलकण्ठ मन्दिर लगायतका धार्मिक तथा ऐतिहासिक मठमन्दिर लगायतका स्थलहरुको व्यवस्थापनमा समेत नगरपालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।