काठमाडौं — पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सिरहा र धनुषाका विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सम्भावित हुलदङ्गा नियन्त्रण, शान्ति–सुरक्षा कायम तथा जनधनको सुरक्षा सुनिश्चित गर्न प्रशासनले कर्फ्यु लगाएको जनाएको छ।

गोलबजारमा दिउँसो २ बजेदेखि कर्फ्यु

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा बिहीबार साउन १४ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको हो।

कर्फ्यु लागू हुने क्षेत्रअन्तर्गत पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ स्थित कसहिया खोलादेखि पश्चिमतर्फ वडा नं. ८ को चोहर्वा चोकसम्मको क्षेत्र समेटिएको छ। त्यस्तै, उत्तरतर्फ वडा नं. ४ को क्याम्पस चोक र दक्षिणतर्फ वडा नं. ६ को बस्ती क्षेत्रसम्म कर्फ्यु लागू हुनेछ।

प्रशासनले कर्फ्यु आदेशको अवज्ञा हुने गरी कुनै गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आदेश उल्लङ्घन गरे प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ।

जनकपुरधाममा पनि अनिश्चितकालीन कर्फ्यु

यसैगरी, धनुषाको जनकपुरधाम तथा आसपासका क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार बिहीबार बिहानैदेखि प्रदर्शनकारी सक्रिय भएपछि दिउँसो ३ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको साउन १४ गते बसेको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो।

कर्फ्यु लागू भएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न रोक लगाइएको छ।

यी क्षेत्र कर्फ्युको दायरामा

धनुषामा जारी कर्फ्युको क्षेत्र उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एम.क्यु. स्टिल क्षेत्रदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकाको नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मणिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्रसम्म तोकिएको छ।

प्रशासनले कर्फ्यु अवधिभर आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम गर्न सहयोग पुर्‍याउन सर्वसाधारणसँग आग्रह गरेको छ।

सिरहा र धनुषामा एकैदिन कर्फ्यु आदेश जारी भएपछि ती क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। प्रशासनले परिस्थिति सामान्य नभएसम्म कर्फ्यु कायम रहने जनाएको छ।