त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । 

यही माघ १५ गतेदेखि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोविजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्ने जस्ता काम अनलाइनबाट गर्न थालिएको नियन्त्रक जोशीले बताउनुभयो । “अब विद्यार्थीले कुनै पनि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत फाराम भरेर शुल्क पनि इ-पेमेन्टबाट तिर्न सक्छन्”, उहाँले भन्नुभयो, “हामीले सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा विद्यार्थीका शैक्षिक प्रमाणपत्र एक हप्ताभित्र पठाउने गर्दछौँ ।” 

नियन्त्रक जोशीका अनुसार अहिले शैक्षिक प्रमाणपत्र क्षेत्रीय कार्यालयमा पठाउने र वैशाखदेखि विद्यार्थी पढेको क्याम्पसमा नै पाँच दिनमा पाउने गरी पठाइने छ । पनिकामा दैनिक एक हजारदेखि दुई हजार विद्यार्थी शैक्षिक प्रमाणपत्रका लागि आउने गरेको उहाँको भनाइ छ । विद्यार्थीले पनिकाको वेबसाइटमा गएर अनलाइन फाराम भर्न सक्छन् । यही माघ १५ गतेदेखि अनलाइन सेवा सञ्चालन गर्न कर्मचारीलाई तालिम दिई तयार पारिने छ । विराटनगर, पोखरा, नेपालगन्ज र अत्तरियामा त्रिविका क्षेत्रीय कार्यालय छन् । रासस