काठमाडौं, वैशाख २७ गते । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सहभागी भएर उपलब्धिको रक्षा गर्न पाँच दलीय गठबन्धनले मतदातालाई आह्वान गरेको छ । मंगलबार साँझ संयुक्त रुपमा सत्तारुढ पाँच दलीय गठबन्धनले अपील गरेको हो । संयुक्त अपीलमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ । पाँच दलको अपील जस्ताको तस्तै : 

बैशाख २७, २०७९
हाम्रो अपील
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
पटकपटकको बलिदानीपूर्ण संघर्ष र त्याग पश्चात निरङ्कुशताको अन्त्य भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको तथ्य सबैमा अवगत नै छ । देशमा निरङ्कुशता विरुद्धको संघर्षमा तेस्रो पुस्तासम्मले रगत र पसिना बगाउनु परेको छ । हामी लोकतन्त्र र स्वतन्त्रताको संघर्षमा होमिदै दिवंगत हुनुभएका प्रातः स्मरणीय महान शहिदहरुप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

संविधानसभा मार्फत नेपाली नागरिकले जारी गरेको संविधान र नागरिकले निर्वाचित गरेको संसदमाथि भएको प्रहारलाई परास्त गर्दै आन्दोलनबाट प्राप्त परिवर्तनका उपलब्धीलाई जोगाउन नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको विदितै छ । दुई दुईपटक संसद विघटन भएपछिको असहज परिस्थितिमा ‘संकीर्ण र निषेध’ को राजनीतिकाविरुद्ध ‘सहमति र सहकार्य’ को जगमा अहिलेको सरकार गठन भएको होे । राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनु पर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको हो । यो एकतालाई अक्षुण राख्दै स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका पाँच दलबीच तालमेल गरी हामीले उम्मेदवारी दिएका छौं । आजको दिन लोकतन्त्र, मानवअधिकार, कानूनी राज, देशको विकास र समृद्धि, सामाजिक न्याय र स्वतन्त्रताको लागि गठबन्धनका हामी पाँच दल सदा अविचलित रहने प्रण गर्दछौं ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको संघर्षकै परिणाम आज राज्य संरचना बदलिएर समावेशी चरित्रको बन्न सम्भव भएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा स्थानीय सरकारको विशेष अर्थ र महत्व रहन्छ । संघीय लोकतन्त्रको जग नै स्थानीय तह हुन् । निर्वाचनमार्फत स्थानीय तह बलियो र सुदृढ हुँदा नै लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने छ । अतः स्थानीय तहको नागरिकसँग प्रत्यक्ष सम्बन्ध अझ सुदृढ गर्न यो निर्वाचनको विशेष महत्व छ ।

स्थानीय जनप्रतिनिधिले नै जनताका सुख–दुःखमा रहेर प्रत्यक्ष रुपमा काम गर्ने हुन् । स्थानीय तहको निर्वाचनले विकासको गतिलाई अघि बढाउने छ । निर्र्वाचित जनप्रतिनिधिहरु नागरिकका पीरमर्कासँग घुलमिल हुँदा लोकतन्त्र थप मजबुत हुने छ । नागरिक अधिकार सुदृढ पार्न समेत स्थानीय निर्वाचनले विशेष भूमिका निर्वाह गर्ने भएकाले यहाँहरुको अमूल्य मत मुलुकको भाग्य र भविष्य निर्धारणमा निर्णायक रहन्छ ।

प्रतिगमनविरुद्धको संघर्षको परिणाम नै मुलुकको राजनीतिले निकास पाएको ध्रुब सत्य हो । असंवैधानिक रुपमा संसद विघटन गरिएपछि संघीय लोकतान्त्रिक गणतन्त्र, शक्तिपृथकीकरण, संविधानवादका मूल्य, मान्यता, मुलुकको स्वाभिमान र सुरक्षा जस्ता बिषयमा अनेक प्रश्न खडा भए । कोरोना महाव्याधिका कारण मुलुक यसै पनि मानवीय संकटको अवस्थामा थियो । पटकपटक संसद विघटनपछि दशकौं लडेर ल्याएको लोकतन्त्र संकटमा परी प्रतिगमनले फेरि टाउको उठाउने खतरा थियो । यी सबै परिस्थितिलाई सह्मालेर अघि बढ्नुपर्ने आवश्यकता गठबन्धन सरकारको थियो । स्थानीय निर्वाचन संघारमा आइसकेको अवस्थामा अब यो ऐतिहासिक अभिभारालाई पूरा गरी चुनौतीलाई अवसरमा बदल्ने दायित्व आम मतदाताहरुको काँधमा आएको छ ।

स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित छ । स्थानीय निर्वाचनका माध्यमबाट मुलुकको एकता बलियो बनाउँदै राजनीतिलाई सहि ढंगले लोकतन्त्रको बाटोमा दोहो¥याउन सक्ने हाम्रो ठहर छ । जनताले दिएको जिम्मेवारीलाई अवसरका रुपमा लिँदै मुलुकको वृहत्तर हितका खातिर जनभावना अनुरुप नेतृत्वदायी भूमिका निर्वाह गर्न लागि पर्ने प्रण समेत हामी गर्दछौं ।

स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ । अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो । गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ । यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं । यस क्षणमा हामी सदैव जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता जाहेर गर्दछौं । हामी सबै क्षेत्र, वर्गको हक अधिकार सुनिश्चित गर्न समर्पित रहने छौं । महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अपांगता भएका व्यक्ति सबैको हक हित र अधिकारको जगेर्नाका लागि हाम्रो साझा प्रयत्न, संकल्प र प्रतिबद्धता रहने छ । आम मतदाता नागरिक नै हाम्रो शक्तिका स्रोत हुन् । यसर्थ, बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन सम्पन्न गर्न सबैलाई एकजुट भएर लाग्न आग्रह गर्दछौं ।

अन्त्यमा, गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएको विदितै छ । मतदानको सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकंलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गर्दछौं । साथै, उत्साहका साथ निर्वाचनमा सहभागी भई पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्याधिक बहुमतका साथ विजयी गराउन सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपील गर्दछौं ।
धन्यवाद ।