जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बित हुनुभएको छ । 

न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा आवश्यक छानबिन गर्न न्यायपरिषद् बैठकले छानबिन समिति बनाएको थियो । 

छानबिन समिति गठनबारेको सूचना राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीश कोइराला स्वतः  निलम्बित हुनुभएको हो ।

राजपत्रमा प्रकाशित सूचनामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको उल्लेख छ । 

न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा उच्च अदालत पाटनका कायमकुमायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी, न्यायाधीश महेश शर्मा पौडेल रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन भएको राजपत्रमा उल्लेख छ । 

समितिले न्याय परिषद् ऐन, २०७३ बमोजिम जाँचबुझ गरी कार्य प्रारम्भ गरेको मितिले ३५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।