ललितपुर, जेठ २२ गते । परालबाट विभिन्न आकर्षक सामग्री निर्माण हुन्छ भनेर कमैले सोचेका होलान् तर ललितपुर हरिसिद्धिकी ५५ वर्षीया तीर्थमाया महर्जनलाई भेट्नेले यो सोचाइ बदल्नुपर्छ । महर्जन परालबाट विभिन्न कलात्मक सामान बनाउने गर्नुहुन्छ । यस कार्यमा उहाँलाई भ्याइनभ्याई पनि छ ।

कलात्मक सामान मात्र नभएर दैनिक प्रयोगमा आउने सामान पनि परालबाटै बनाउनुहुन्छ । परालको जुत्ता बनाउँदै गर्नुभएकी महर्जनले भन्नुभयो, “घर–भान्सामा अझै पनि परालकै जुत्ता लगाउँछौँ । यसले जाडोको समयमा तातो दिनुको साथै गर्मीमा शीतलता पनि दिन्छ ।” “फुर्सदको समयमा परालबाट सुकुन्दा, पुतली, सानो सुकुल बनाउने गर्छु,” उहाँले थप्नुभयो, “विभिन्न कलासम्बन्धी मेला हुँदा मैले पारलले बनाएको सामान प्रदर्शनी गरेको छु ।” 

उहाँका अनुसार परालबाट बनाएका जुत्ताले राम्रै आम्दानी पनि हुन्छ । “एक मुठा परालको चार जोरसम्म जुत्ता बन्छ,” उहाँले भन्नुभयो, “प्रतिजोर जुत्ता एक सय रुपियाँ जतिमा बिक्छ ।” पछिल्लो समय यस्ता जुत्ता किरियापुत्रीले बढी प्रयोग गर्न थालेका छन् । त्यसैले पनि हरिसिद्धिभित्रका ओपी, समल, पाखचा, साफल गरेर चार टोलमा मात्र तीन सय घरधुरी फुर्सदको समय परालेजुत्ता बनाउन व्यस्त रहन्छन् । 

पछिल्लो समय यस क्षेत्रका किसानले आफ्नो पुरानो पेसालाई आधुनिकीकरण गर्दै छन् । परम्परागत पेसालाई आधुनिकीकरण गर्दा आम्दानी बढेपछि यसप्रति आकर्षण बढेको छ । पराले सुकुलका लागि ललितपुर सानागाउँ प्रसिद्ध छ । यद्यपि अहिले सानागाउँका बासिन्दा सुकुलमा बुट्टा भर्ने मात्र होइन, परालेसोफा, ब्याग, मन्दिरलगायत कलात्मक सामग्री बनाएर आम्दानी गर्न थालेका छन् । “सुकुल मात्र बुनेर भएन । अहिले परालबाट आधुनिक सामग्री निर्माण गर्दै छौँ,” सानागाउँकी तारा महर्जन भन्नुहुन्छ । 

१० मुठा परालबाट बन्ने सुकुलले भन्दा तीन मुठाबाट बनेको सोफा–कुर्सीले आम्दानी बढी भएको उहाँको भनाइ छ । परालका सोफा, ढक्की, ब्याग, मन्दिरलगायत सामग्रीको अर्डर लिएर बनाउने उहाँले बताउनुभयो । सीपलाई नयाँ रूप दियो भने आम्दानी बढ्ने रहेछ । त्यसैले नयाँ काम गर्न थालेको महर्जनले बताउनुभयो । 

सानोगाउँकी हरिदेवी नेम्कुलले रेस्टुरेन्टबाट आएको मागअनुसार सुकुल बुन्दैमा दिन बित्ने बताउनुभयो । पहिला खेतबाट पराल जस्तो ल्याइन्थ्यो, त्यस्तै प्रयोग गरिन्थ्यो । अब भने सुरुमा पराललाई सरफपानीले पखालेर सफा पारिन्छ । ढुसी र किरा लाग्न नदिन फिटकिरी मिसाइन्छ । सुकुलबाट धुलो नझरोस् भनेर परालको टुप्पो काटिन्छ र सामान बनाउनका लागि तयार पारिन्छ ।

-गोरखापत्र