यस वर्षको महाशिवरात्रीमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकाे छ । साथै पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी आउनुहुँदैछ  । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी बिहीबार पशुपति मन्दिर आइपुग्नुहुने जानकारी दिएको हो ।

यस वर्ष फागुन ५, ६ र ७ गते पशुपति शंकराचार्य पूजन महोत्सव कार्यक्रम राखिएकाले उहाँ सो कार्यक्रममा सहभागी हुन पशुपतिनाथ आउन लाग्नुभएको कोषले जनाएको छ । 

भोलि बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म उहाँले आशिर्वचन दिने कार्यक्रम रहेको छ । पशुपति परिसरमा महाशिवरात्रीको अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम हो ।  

महाशिवरात्री पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष परिसर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्री पर्वलाई व्यवस्थित गर्ने तयारी गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताउनु भयो । 

पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मुल शिविर रहनेछ । मुल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिने पनि उहाँले बताउनुभयो । उहाँले मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सीसी क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ब्यारिकेड जडान लगायतको कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनका लागि नेपाली सेनाको विशेष सहयोग हुने बताउनुभयो । 

मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायतका चार हजार स्वयंसेवकहरु रहने छन् । पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको मुल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहेन छन् ।

आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुनेछ । त्यस्तै, जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग एक, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि एक, बज्रघर दक्षिणतर्फ एक, राममन्दिर नजिक बागमती पारी एक गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ । 

यसैगरी, चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहनेछ । कोषले प्लाष्टिक, काँच, सिसा जस्ता फुट्ने प्रकृतिको कप प्लेट र सामग्रीहरुको प्रयोगमा रोक लगाएको छ । दर्शन मार्गको रुपमा गुह्वेश्वरी—गौरीघाट, उमाकुण्ड—दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट—१ लाइन, मित्रपार्क— जयवागेश्वरी—इंटापाखा भएर भुवनेश्वरीस्थ्ति फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट—१ लाइन, बत्तिसपुतली—गौशाला, एयरपोर्ट—तिलगंगा भएर पिंगलास्थान—सुमार्गी भवन अघिबाट चार शिवालय— पञ्चदेवल हुँदै दक्षिण ढोकाबाठ १ प्लस १ लाइन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन लाइनहरु रहनेछन् ।

महाशिवरात्रि पर्व मनाउन भारतलगायत विभिन्न देशबाट नागा बाबाहरू पशुपतिनाथ मन्दिर परिसर आइपुगेका छन् । काठमाडौँ आइपुग्नेका बाबाहरूलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वारा नम्बर १ बाट पशुपतिनाथको परिसरमा प्रदेश गरेका छन् । महाशिवरात्रिमा विशेषतः नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू पशुपति परिसर आउने गर्छन् ।

यस वर्षको महाशिवरात्रि भोलि (शनिबार) मनाइँदै छ । महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।