काठमाडौँ जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकको बायोमेडिकल परीक्षणका नाममा भएको शुल्क असुलीसम्बन्धी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अर्याललाई शुक्रबार अदालतमा पेस गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराइएका उहाँलाई थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का प्रवक्ता अनुपम शम्शेर जबराले जानकारी दिनुभयो ।
यसअघि सिआईबीले अर्यालको बूढानीलकण्ठस्थित निवासमा छापा मारेर ल्यापटपलगायत विद्युतीय उपकरण तथा कागजात नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा ती सामग्रीबाट प्राप्त विवरणसमेत विश्लेषण गरिने प्रहरीको अनुसन्धान प्रक्रियासँग जोडिएको छ ।
विराटनगरमा बिहीबार पक्राउ पर्नुभएका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो ।
त्यसपछि आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी शुक्रबार जिल्ला अदालतमा पेस गरिएको हो ।मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण तथा बायोमेडिकल सेवाका नाममा अतिरिक्त शुल्क असुली भएको विषयमा सिआईबीले अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा प्रहरीले यसअघि नै दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ ।
श्रमिकलाई वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य गरिने स्वास्थ्य परीक्षणका नाममा भएको आर्थिक कारोबार, त्यसमा संलग्न व्यक्ति तथा निर्णय प्रक्रियाको भूमिकाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । अदालतबाट प्राप्त चार दिनको म्यादमा अर्यालको संलग्नतासहित प्रकरणका विभिन्न पक्षमा थप प्रमाण सङ्कलन र विश्लेषण गरिने छ ।

प्रतिकृयाहरु