रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा खोजी तथा उद्धारका क्रममा तीन वटा शव फेला परेका छन्।
नेपाली सेनाका अनुसार बुधबार गोताखोरसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी टनेलको अन्तिम किनारासम्म खोजी गर्दा तीन वटा शव फेला पारेको हो। फेला परेका शवमध्ये दुई वटा बाहिर निकालिएको र बाँकी एक शव निकाल्ने कार्य जारी रहेको सेनाले जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण आयोजनाको सुरुङभित्र मानिसहरू फसेपछि खोजी तथा उद्धार अभियान सञ्चालन गरिएको थियो।
उद्धार कार्यलाई सहज बनाउन नेपाली सेना तथा विदेशी प्राविधिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले विभिन्न स्रोतसाधन परिचालन गर्दै आएको थियो। हेलिकप्टरमार्फत स्याफ्रुबेँसीमा पुर्याइएको एक्जाभेटर र लोडर प्रयोग गरी चट्टान हटाउँदै करिब एक हजार मिटर बाटो निर्माण गरेर सुरुङसम्म पहुँच पुर्याइएको थियो।
त्यसपछि सुरुङ क्षेत्रमा जम्मा भएको डेब्रिस तथा अवरोध निरन्तर हटाउँदै खोजी कार्य अघि बढाइएको सेनाले जनाएको छ। पछिल्लो खोजीका क्रममा तीन शव फेला परेपछि उद्धार टोलीले बाँकी शव बाहिर निकाल्ने तथा थप खोजी कार्यलाई निरन्तरता दिएको छ।

प्रतिकृयाहरु