काठमाडौं, असार ७ गते । गैरकानुनीरुपमा सवारी चालक अनुमति पत्र जारी गरेको आरोपमा फोटोकपी सञ्चालकसहित यातायात व्यवस्थाका कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उहाँहरुमाथि पाँच सय ३३ जनालाई सेटिङमा विचौलियामार्फत् सवारी चालक अनुमति पत्र जारी गरेको आरोप लागेको छ । 

सो आरोपमा ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका तात्कालीन कार्यालय प्रमुख सम्बर बहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरी, सहायक स्तर (पाँचौं) कमल स्याङ्तान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाँल, कम्युटर अपरेटर (करार सेवा)ं प्रकाश कार्की, रेजु भट्टराई, रोसन राजभण्डारी, श्याम सुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी, रिचा श्रेष्ठ उपर भ्रष्टार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

त्यसैगरी सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्मामाथि पनि विचौलियामार्फत् सवारी चालक अनुमति पत्र जारी गरेको आरोप लागेको हो ।

आरोपितले आर्थिक वर्ष २०७७/७८ देखि २०७८/७९ को साउन र भदौ महिना गरी १४ महिनाको अवधिमा विचौलिया हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धव बहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्य समेतको मिलेमतोमा विविध कारणले स्वतः रद्द भएका सवारी चालकको नाममा अनुमति पत्र जारी गरिएको आयोगले जनाएको छ ।