केही महिनादेखि सुस्ताएको घरजग्गा कारोबार पुस महिनामा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार अघिल्ला महिनाको तुलनामा पुस महिनामा घरजग्गा कारोबार बढेको हो ।

सरकारले घरजग्गा कारोबारमा खुकुलो नीति अवलम्बन गरेको र बैङ्कहरूले ब्याजदर घटाएसँगै  घरजग्गा कारोबार बढेको छ ।

मङ्सिर महिनामा ४१ हजार १५१ घरजग्गा कारोबार भएको थियो भने पुस महिनामा यो ४५ हजार २७७ घरजग्गा कारोबार भएको तथ्याङ्क छ  । मङ्सिरको तुलनामा पुस महिनामा चार हजार १२६ घरजग्गा कारोबार बढेको छ ।

सङ्ख्याको हिसाबमा मोरङ जिल्लामा सबैभन्दा बढी घरजग्गा कारोबार भएको छ । मोरङमा दुई हजार ८७३ घरजग्गा कारोबार भएको तथ्याङ्कमा उल्लेख छ । मोरङको विराटनगर, बेलबारी र रङ्गेली मालपोत कार्यालयबाट यो सङ्ख्यामा घरजग्गा कारोबार भएको हो । मङ्सिर महिनामा मोरङमा दुई हजार ३८९ घरजग्गा कारोबार भएको थियो ।

काठमाडौँको चाबहिल, टोखा, डिल्लीबजार, साँखु र कलङ्की मालपोत कार्यालय पुस महिनामा एक हजार ७६३ (लिखत पारित) र एक सय ५१ वटा नामसारी भएको तथ्याङ्क छ ।

ललितपुरमा १५ वटा लिखत पारित र ८५ वटा नामसारी कारोबार भएको छ । भक्तपुरमा ८७७ घरजग्गा कारोबार भएको छ  भने ७० वटा नामसारी भएको छ ।

राजश्व पनि बढ्यो

पुस महिनामा घरजग्गा कारोबार बढेसँगै कारोबार बापत राजश्व सङ्कलन पनि बढेको छ । अभिलेख विभागको तथ्याङ्क अनुसार मङ्सिरको तुलनामा पुस महिनामा राजश्व सङ्कलनमा ३४ करोड दुई लाख दुई हजार ५०९ ले वृद्धि भएको छ ।

घरजग्गा कारोबारमार्फत मङ्सिर महिनामा दुई अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रुपियाँ राजश्व सङ्कलन भएको थियो । पुस महिनामा यो बढेर तीन अर्ब २० करोड ५२ लाख १३ हजार ५३० रुपियाँ सङ्कलन भएको छ ।