काठमाडौँ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनमा आगलागीबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्न सार्वजनिक तथा निजी सवारीसाधनमा फायर इक्स्टिङ्ग्विशर (आगो निभाउने उपकरण) अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा कडाइ गर्ने भएको छ।
विशेषगरी पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग बढ्दै गएसँगै सवारी सुरक्षालाई ध्यानमा राखेर ट्राफिक प्रहरीले चालक तथा सवारीधनीलाई आफ्नो सवारीमा उपयुक्त र प्रयोगयोग्य फायर इक्स्टिङ्ग्विशर राख्न आग्रह गरेको हो।
ट्राफिक प्रहरीका अनुसार सवारीसाधनमा अचानक आगलागी भएमा प्रारम्भिक चरणमै आगो नियन्त्रण गर्न फायर इक्स्टिङ्ग्विशर उपयोगी हुन सक्छ। त्यसैले उपकरण सवारीमा राख्नुका साथै प्रयोग गर्न मिल्ने अवस्थामा छ कि छैन, म्याद गुज्रिएको छ कि छैन र आवश्यक स्थानमा सहजै निकाल्न सकिने गरी राखिएको छ कि छैन भन्ने विषयमा पनि सवारीधनीले ध्यान दिनुपर्नेछ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारीसाधनको नियमित जाँच तथा अनुगमनका क्रममा फायर इक्स्टिङ्ग्विशरको उपलब्धतासमेत निरीक्षण गर्ने जनाएको छ। सार्वजनिक सवारीसाधनमा चालक तथा सहचालकले आकस्मिक अवस्थामा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सुरक्षा उपाय अपनाउनुपर्नेमा पनि प्रहरीले जोड दिएको छ।
विशेषगरी ईभीमा देखिन सक्ने आगलागीका घटनालाई ध्यानमा राख्दै सवारीधनीले निर्माता कम्पनीले सिफारिस गरेका सुरक्षा मापदण्ड पालना गर्न, विद्युतीय प्रणालीमा अनधिकृत परिवर्तन नगर्न तथा ब्याट्री, चार्जिङ प्रणाली र तारजडानको नियमित परीक्षण गराउनुपर्नेमा ट्राफिक प्रहरीले सचेत गराएको छ।
ट्राफिक प्रहरीले सवारीसाधनको प्राविधिक अवस्था, सुरक्षा उपकरण र सुरक्षित सञ्चालनसम्बन्धी नियमको पालना दुर्घटना न्यूनीकरणको महत्वपूर्ण आधार भएको जनाएको छ। सवारीधनी तथा चालकलाई नियम पालना गर्न आग्रह गर्दै कार्यालयले आगामी दिनमा सुरक्षा मापदण्डको अनुगमनलाई थप प्रभावकारी बनाउने संकेत दिएको छ।
आगलागी वा अन्य आकस्मिक अवस्था उत्पन्न भएमा चालकले पहिले यात्रुको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित स्थानमा सवारी रोक्ने, सम्भव भए विद्युत् तथा इन्धनको स्रोतबाट जोखिम कम गर्ने र आवश्यक परे सम्बन्धित सुरक्षा निकायलाई तत्काल खबर गर्नुपर्ने हुन्छ।

प्रतिकृयाहरु