कपिलवस्तु — कपिलवस्तुको विजयनगर गाउँपालिका–४, जगदिशपुरबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कृष्णनगर नगरपालिका–८, बहादुरगन्ज आसपासका गाउँमा स्थानीयलाई डरधम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचना प्राप्त भएपछि खोजी अभियान सञ्चालन गरिएको थियो। सोही क्रममा उनीहरूलाई जगदिशपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५, डबराका २३ वर्षीय आशिष पाण्डे, वडा नं. ८, दयानगरका २१ वर्षीय जितेन्द्र मौर्या र १९ वर्षीय विनोद कश्यप रहेका छन्।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख प्रहरी निरीक्षक महेशकुमार आचार्यका अनुसार उनीहरूको साथबाट एक थान पेस्तोल र प्रयोग गरिएको लु.६१ प.७०७२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।