काराकास, भेनेजुएला – दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा लगातार दुई वटा शक्तिशाली भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको छ। प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण राजधानी काराकासका धेरै भवन तथा पूर्वाधारमा व्यापक क्षति पुगेको छ भने कम्तीमा १६४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। झन्डै एक हजार व्यक्ति घाइते भएका छन्।

सरकारी अधिकारीहरूका अनुसार बुधबार साँझ ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न क्षेत्रलाई प्रभावित बनाएका हुन्। विज्ञहरूले यी भूकम्पहरू एक शताब्दीभन्दा बढी समययताकै भेनेजुएलामा गएको सबैभन्दा शक्तिशाली भूकम्पमध्येका एक भएको बताएका छन्।

देशव्यापी सङ्कटकाल घोषणा

विपद्को गम्भीरता बढ्दै गएपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा सङ्कटकाल घोषणा गर्नुभएको छ। सरकारका अनुसार राजधानी काराकास र तटीय क्षेत्रहरूमा सबैभन्दा बढी क्षति पुगेको छ।

राष्ट्रपति रोड्रिगेजले भूकम्पबाट गम्भीर रूपमा प्रभावित क्षेत्रहरूमा सेना, प्रहरी तथा उद्धार टोलीहरूलाई तत्काल परिचालन गरिएको जानकारी दिनुभएको छ। उहाँले नागरिकलाई शान्त रहन र सरकारी निर्देशनहरूको पालना गर्न अपिल गर्नुभएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल बन्द

भूकम्पबाट ठुलो भौतिक क्षति पुगेपछि काराकासस्थित सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ। विमानस्थलको धावनमार्ग र केही संरचनामा क्षति पुगेको आशङ्कामा उडान सेवा अनिश्चितकालका लागि स्थगित गरिएको अधिकारीहरूले जनाएका छन्।

यातायात, सञ्चार र विद्युत् आपूर्तिमा समेत व्यापक अवरोध उत्पन्न भएको छ। प्रभावित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुँदा उद्धार कार्यमा थप चुनौती थपिएको छ।

भग्नावशेषबाट जीवित उद्धार

सरकारी टेलिभिजनले प्रसारण गरेका दृश्यहरूमा ला गुआइरा राज्यको भग्नावशेषबाट धूलोले ढाकिएका तीन बालबालिकालाई जीवितै उद्धार गरिएको देखाइएको छ। उद्धार टोलीले अन्य मानिसहरू भग्नावशेषमा पुरिएको आशङ्का गर्दै खोजी कार्यलाई तीव्र बनाएको छ।

ला गुआइरा क्षेत्रलाई सरकारले ‘विपद् क्षेत्र’ घोषणा गरेको छ। यस क्षेत्रमा भवनहरू भत्किएका, सडक चिरिएका र आधारभूत संरचनाहरू ध्वस्त भएका कारण सबैभन्दा बढी मानवीय संकट उत्पन्न भएको बताइएको छ।

छिमेकी मुलुकसम्म धक्का

भूकम्पको धक्का छिमेकी देशहरू ब्राजिल र कोलम्बियासम्म महसुस गरिएको थियो। केही सीमावर्ती क्षेत्रहरूमा मानिसहरू घरबाट बाहिर निस्किएका र आपत्कालीन सुरक्षा उपाय अपनाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उद्धार र राहत कार्य जारी

हाल प्रभावित क्षेत्रमा सेना, स्वास्थ्यकर्मी तथा अन्तर्राष्ट्रिय सहयोग निकायहरूलाई परिचालन गरी खोजी, उद्धार र राहत वितरण कार्य तीव्र पारिएको छ। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ, किनभने धेरै मानिसहरू अझै पनि भग्नावशेषमा फसेको आशङ्का गरिएको छ।

भेनेजुएलाले पछिल्लो समयकै सबैभन्दा ठूलो प्राकृतिक विपद्को सामना गरिरहेको भन्दै सरकारले अन्तर्राष्ट्रिय समुदायसँग मानवीय सहयोगका लागि अपिल गरेको छ।