काठमाण्डौं भाद्र २० गते । उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै स्थानीय तहहरु विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । काठमाण्डौं जिल्लाका स्थानीय तहहरुले आगामी साताबाट भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने जनाएसँगै जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले स्थानीय तहहरुलाई छलफलका लागि बोलाएको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीकाअनुसार विद्यालय भौतिक रुपमा सञ्चालन गर्न सकिने अवस्था हो या होईन सो विषयमा बुझ्न जिल्लाका सबै स्थानीय तहलाई छलफलका लागि बोलाएको जानकारी दिनुभयो । बैठक भोलि (सोमबार) १ बजे जिल्ला प्रशासन कार्यालयमा बस्नेछ ।

स्थानीय तहहरुलाई संस्थागत र सामुदायिक विद्यालयहरुमा अनलाइनको पहुँच भएका र पहुँच बाहिर रहेका विद्यार्थीको संख्यासहित उपस्थित हुन आग्रह गरिएको पराजुलीले बताउनुभयो । बैठकपछि विद्यालय भौतिक रुपमै सञ्चालन गर्ने वा नगर्ने भन्ने टुङ्गो लाग्ने उहाँको भनाई छ ।

-गोरखापत्र