हेटौँडा, माघ ६ गते । बागमती प्रदेश सरकारअन्तर्गत रहेको हेटौँडा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीसहित जिल्लाका ६० जनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो छ दिनको अवधिमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टसहित ३६ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अध्यक्ष राजेश प्रसाईंले चार जना चिकित्सक, ११ जना नर्स, पारामेडिकल, ल्याबसहितका स्वास्थ्यकर्मी १३ जना र कार्यालय सहयोगीसहित प्रशासनका गरी आठ जना कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँले अस्पतालले प्रदान गर्दै आएको सेवा हाल नियमितता दिँदै आएको बताउँदै थप कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि र कोरोना भएकाहरू उपचारका लागि आउने बिरामी बढेमा नियमित प्रदान हुँदै आएका सेवा प्रभावित हुनसक्ने बताउनुभयो ।

अस्पतालमा तीन सयभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । उहाँले अत्यावश्यक अवस्थामा मात्र अस्पतालमा उपचारका लागि आउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उता मनहरी गाउँपालिका र कैलाश गाउँपालिकालगायतका स्वास्थ्यका २५ जना कर्मचारीमा कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य कार्यालय, मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बुधबार मात्र कार्यालयका दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । कार्यालयका अनुसार मकवानपुर जिल्लामा विगत २४ घण्टामा पीसीआर विधिबाट परीक्षण गरिएका २८२ जनामध्ये २१६ जनामा र एन्टिजेन विधिबाट परीक्षण गरिएका १०६ जनामध्ये ६९ जना गरी २८५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

जिल्लामा हाल संस्थागत आइसोलेसनमा बसेकाको सङ्ख्या पाँच जना र होम आइसोलेसनमा बस्नेको सङ्ख्या ८४५ जना गरी सक्रिया सङ्क्रमितको सङ्ख्या ८५० जना पुगेको छ । स्वास्थ्य कार्यालयले जिल्लामा कोरोनाबाट हालसम्म १७० जनाको जनाएको छ । मकवानपुरमा कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या दुई लाख ७४ हजार ४६८ जना र पूर्ण खोप लगाउनेको सङ्ख्या एक लाख ९३ हजार ३५० जना पुगेको छ ।