पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका –९ रजैयास्थित सडकखण्डमा बसमा सवार एक व्यक्तिले झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनी ट्रकले हात चुँडाएपछि मृत्युभएको छ । उहाँको २४ घण्टापछि आइतबार पहिचान खुलेको छ ।

हेटौँडाबाट चितवनतर्फ शनिबार बिहान ११ः२५ बजेको समयमा जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदैगरेको बा ३ ख ८३९४ नम्बरको बसमा चालकको सिटभन्दा पछाडि सिटमा बसी झ्यालबाट हात बाहिर निकालेको अवस्थामा सवार पोषण शैखको दाहिने हातको पाताभन्दा मुनिको भाग चुँडाएको थियो ।

हात चुँडिएको र निधारमा चोट लागेको अवस्थामा भारतको बिहान बेतिया १२ सुनवर्षाका १८ वर्षीय घाइते शैखलाई चुँडिएको हातसहित उपचारको लागि सोही बसमा हेटौँडा अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा उहाँको मृत्युभएको थियो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतकको २४ घण्टापछि पहिचान खुलेको जानकारी दिँदै ट्रक र ट्रकचालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।