नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाण्डूले आदेश दिएको छ। 

उनको मुद्दामा गत मङ्गलवारदेखि थुनछेक बहस सुरु भएको थियो। 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले भने, "सन्दीप लामिछानेको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।"

उनका अनुसार जिल्ला अदालत काठमाण्डूका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। लामिछानेको मुद्दामा थुनछेक बहस सकिएपछि शुक्रवार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो।

जबरजस्ती करणीको आरोपसहित यसै साता सरकारी वकिलहरूले लामिछानेविरुद्ध मुद्दा दायर गरेका थिए। लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कैद सजाय हुनुपर्ने माग गरिएको काठमाण्डू जिल्ला अदालतले जनाएको छ। 

सरकारी वकिलको कार्यालयले पीडितलाई क्षतिपूर्तिस्वरूप पाँच लाख रुपैयाँ दिनुपर्ने माग दाबी पनि गरेको छ। 

लामिछानेले चाहिँ आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन्। हिरासतमा पर्नुअघि पनि लामिछानेले "आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने" सामाजिक सञ्जालमार्फत्‌ बताएका थिए। अदालतको आदेश बमोजिम अब लामिछानेलाई सुन्धारास्थित केन्द्रीय कारागरमा लगिने काठमाण्डू प्रहरी परीसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिएका छन्।