जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्काशन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गलबार संसदबाटै निष्काशन गरिएको हो ।गत जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको माथिल्लो सदनले निष्काशन गरेको हो ।गासी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसद्‍बाट निष्काशित हुने पहिलो सांसद भएका छन् । यसअघि सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमा याचना गर्न आदेश दिएको थियो तर उनले त्यसको वेवास्ता गरेका थिए । एकाउन्न वर्षीय उनको दलबाट दुई जना सांसद निर्वाचित छन् । उनी निष्काशित भए पनि अर्को एक सदस्यले उनको स्थानमा काम गर्नेछन् ।दुबईमा बसोबास गरिरहेको पूर्व व्यापारी उनले जापान फर्केमा पक्राउ पर्ने बताएका छन् । मानहानीको आरोपमा उनलाई सम्बद्ध अधिकारीले सोधपुछ गर्न पक्राउ गर्नसक्ने उनले बताएका छन् । जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उनको दल एनएचके पार्टीका रूपमा परिचित थियो ।