नेपालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो ।

नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका छन् । तिनको नाम डाँफे र मुनाल राखिएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्रवक्ता डा. रवीन्द्रप्रसाद ढकालका अनुसार डाँफे र मुनाल दुई/तीन महिनाको फरकमा आगामी चैत / वैशाखमा प्रक्षेपण हुनेछन् । नेपालमा यस कार्यमा नास्ट र अन्तरिक्ष प्रतिष्ठानको सहकार्य र समन्वय रहेको छ ।

यी दुईवटा स्याटेलाइट निर्माण र उडानको नेतृत्व नास्टका डा. रवीन्द्रप्रसाद ढकाल र अन्तरिक्ष प्रतिष्ठानबाट आभास मास्केले गर्नुभएको छ । थाइल्यान्डको इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभलपमेन्ट (इन्स्टेड)सँगको सहकार्यमा तयार भइरहेको डाँफे मिसनका लागि नास्टले एक करोड रुपियाँ बजेट छुट्याएको छ ।

प्रवक्ता डा. ढकालका अनुसार प्रक्षेपणको तयारीमा रहेका दुवैको क्षमता पहिलो स्याटेलाइटको जस्तै रहने जनाइएको छ । प्रवक्ता डा. ढकालले भन्नुभयो, “डाँफे नास्टले नेतृत्व गर्ने मिसन हो, मुनाल विद्यार्थीले बनाएको मिसन हो । यीमध्ये पहिला डाँफे उड्छ ।”

यो मिसनको संयोजन अन्तरिक्ष प्रतिष्ठानका तर्फबाट आभास मास्केले गर्नुभएको छ । नास्टले यस मिसनमा आर्थिक, प्राविधिक सहयोग र सहकार्य गरेको छ । “यी दुवै स्याटेलाइटमा अन्य देशको पनि लगानी रहन्छ, त्यसमा नास्टले सहयोग र सहकार्य नै गर्ने हो । यसमा हाम्रो मात्र लगानी र सहयोग हुँदैन ।  

यसमा थाइल्यान्ड वा अन्य कुनै देशको पनि सहकार्य रहन्छ,” उहाँले भन्नुभयो । 

यस मिसनका मुख्य उद्देश्य स्याटेलाइट मिसनका लागि चाहिने योग्य जनशक्ति निर्माण गर्नु, स्पेस मिसन र परियोजनासँग सम्बन्धित संरचनाको विकास र अन्तर्राष्ट्रिय संस्थाबीच साझेदारी गर्नु रहेका छन् । उहाँले पहिले उडाएको स्याटेलाइटबाट नेपालले धेरै कुरा सिक्ने मौका मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले उडाएको नानो (सानो) स्याटेलाइट खसिहाल्यो, अब हामी अर्को बनाउँदै छाँै ।”

डा. ढकालका अनुसार सन् २०२२ भित्रै उडाउने योजना भए पनि प्राविधिक सहकार्य गर्दै गरेको निकायले मिति सारेकाले २०२३ को अप्रिल÷मेसम्ममा भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरिएको हो । 

अहिलेको स्याटेलाइट मिसनमा केन्द्रित हुनुका साथै पहिलेको जस्तै फोटोग्राफी नै हुने तर हाई रेजुलेसनको क्यामरा हुने बताइएको छ । पहिला ५० वर्ग किलोमिटरको रेजुलेसनको थियो । अब त्यसलाई अलिकति घटाउने र मिसन क्यामरासँग जोडिने जनाइएको छ ।

उहाँले भन्नुभयो, “यसअघि बर्ड क्युटेक्टसँग स्याटेलाइट उडायौँ, उसले किचुने भन्ने स्याटेलाइट पहिला नै उडाइसकेको छ । त्यो स्याटेलाइट अहिले पनि आकाशमा छ, हामीले त्यसको एक्सेस पाइरहेका छौँ ।”

उहाँले भन्नुभयो, “जसको पाँच वर्गमिटरको रेजुलेसन हामीसँग छ । यसको अर्थ पानीजहाज, अलि ठूलो आकारका बस र कन्टेनर यसले देख्न सक्छ । यो भनेको तस्बिरका हिसाबले नेपालका लागि ठूलो सम्पत्ति हो ।”