भनिन्छ, प्रेममा परेको मानिसले जे पनि गर्न सक्छन्। यस्तै उदाहरण इजिप्टका एक युवाले दिएका छन्। इजिप्टको मेनोउफिया प्रान्तका एक युवाले परीक्षामा आफ्नी प्रेमिका फेल भएको भन्दै विद्यालयमा नै आगो लगाइदिएका छन्। 

इजिप्टका महान्यायाधिवक्ताले विद्यालयमा आगो लगाउने युवकलाई पक्राउ गरिएको बताएका छन्। २१ वर्षीय युवा अहिले प्रहरी हिरासतमा रहेको र उनीबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ। प्रारम्भिक अनुसन्धान अनुसार प्रेमिका परीक्षामा फेल हुँदा युवतीले कक्षा दोहोर्‍याउनुपर्ने भएकाले उनीहरुको विवाह यस वर्ष नहुने आशंकाको कारण युवकले विद्यालयमा आगो लगाइदिएका हुन्। 

यद्यपि विद्यालयमा आगो लगाउँदा मानवीय क्षति भने नभएको द नेशनल न्युजले उल्लेख गरेको छ।

विद्यालयमा आगो लागेको केही समयमा नै अग्नि नियन्त्रण टोलीले आगोलाई काबुमा लिए पनि विद्यालयको प्रिन्सिपलको कार्यालय र प्रमुख प्रशासकीय एकाइमा ठूलो क्षति पुगेको थियो। 

विद्यालयमा आगो लगाएपछि युवक भागेर आफ्नो घर पुगेका थिए तर उनलाई पहिला नै स्थानीय मानिसहरुले आगो लगाउँदै गरेको देखेका थिए।  त्यसैको आधारमा उनी पक्राउ परेका हुन्।