नेपालमा अफ्रिकन स्वाइन फिभरबाट पहिलो पटक बँदेल मरेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अफ्रिकन स्वाइन फिभरबाट बँदेल मरेको हो । 

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार निकुञ्जमा मरेको अवस्थामा भेटिएको एउटा बँदेलको पोष्टमार्टम गर्दा शङ्का लागेपछि थप परीक्षणका लागि नमूना केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो । 

पीसीआर विधिबाट परीक्षण गर्दा फागुन १९ गते अफ्रिकन स्वाइन फिभर पुष्टि भएको धनगढी प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले बताउनुभयो । ‘‘अहिले बङ्गुरमा भयावह अवस्थामा रहेको यो रोगबाट नेपालमा पहिलो पटक बँदेलको बँदेल मरेको हो’, उहाँले भन्नुभयो,‘‘अफ्रिकन स्वाइन फिभरबाट अन्य देशमा बँदेल मरेपनि नेपालमा अहिलेसम्म यस्तो अभिलेख भएको थिएन ।’’ 

कैलाली, कञ्चनपुरका बङ्गुरमा भने यो रोग भयावह अवस्थामा रहेको छ । दुवै जिल्लामा गरेर हजारौं बङ्गुर अफ्रिकन स्वाइन फिभरबाट मरिसकेका छन् । पछिल्लो समय डडेल्धुरामा पनि बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ । ‘‘यो प्रदेशको अहिलेसम्म तीन जिल्लामा अफ्रिकन स्वाइन फिभर पुष्टि भइसकेको छ’’, डा. जोशीले भन्नुभयो । 

यो रोग बङ्गुर र बँदेलमा चाँडै सर्ने र रोग लागेपछि मृत्यु लगभग निश्चित रहेको बताइएको छ । बङ्गुरलाई देखा परिरहेको रोग बँदेलमासमेत पुगेपछि चिन्ताको विषय बनेको छ । यो रोगले किसानको बङ्गुर फार्म नै रित्तिइ रहेको बेला शुक्लाफाँटाको बँदेल पनि नाश हुने खतरा बढेको छ । 

थप अरु बँदेलमा यो रोग लागे नियन्त्रण गर्न चुनौती हुने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले बताउनुभयो । ‘‘मुख्य कुरो मरेको बँदेलको सम्पर्कमा अरु बँदेल थिए कि थिएनन् भन्ने हो’, ‘‘उहाँले अगाडि थप्नुभयो, ‘‘तर अरु बँदेलमा पनि यो रोग सरेमा नियन्त्रण गर्न सकिदैन ।’’ 

उहाँका अनुसार अहिलेसम्म मरेको एउटामात्रै बँदेल शुक्लाफाँटामा फेला परेको छ । निकुञ्जको बनेखेडा पोष्ट क्षेत्रमा गस्ती टोलीले मरेको बँदेल फेला पारेको थियो । त्यसपछि पोष्टमार्टमका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीको टोली त्यहाँ पुगेको थियो । 

यो रोगले ठूलो सङ्ख्यामा बँदेल मर्न सक्ने भएकाले निकुञ्ज कार्यालयले नै सतर्कता अपनाउनु पर्ने डा. जोशीको सुझाव छ । ‘‘बँदेल मरेको फेला परेमा सुरक्षित तरिकाले गाड्नु पर्छ’, उहाँले भन्नुभयो, ‘‘यसबाहेक रोकथामको अन्य कुनै उपाय नै छैन ।’’ 

बँदेलसम्म पुगिसकेको अफ्रिकन स्वाइन फिभरले जैविक विविधतामा ठूलो असर पु¥याउन सक्ने डा. जोशीको भनाइ छ । यद्यपि, यो रोग बङ्गुर र बँदेलमा मात्रै लाग्ने भएकाले अन्य वन्यजन्तुलाई जोखिम छैन । 

अफ्रिकन स्वाइन फिभर बङ्गुर, बँदेलबाहेक अन्य वन्यजन्तुमा नलाग्ने उहाँले बताउनुभयो । ‘‘यो रोगबाट बाघ, गैँडा, हरिन, बाह्रासिङ्गा जस्ता अन्य जनावरलाई खतरा छैन,’’ डा. जोशीले भन्नुभयो । 

अफ्रिकन स्वाइन फिभर लागेमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्रीसम्म) आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउने, धर्मराउने, गर्भ तुहिने जस्ता लक्षण देखापर्ने गरेको जनाइएको छ । 

यो रोग सबैभन्दा पहिले गत असोज १५ गते कैलालीको भजनी नगरपालिका–३ स्थित बडिमालिका कृषि केन्द्रमा रहेका बङ्गुरमा पुष्टि भएको थियो । रोगबाट सो बङ्गुर फार्म रित्तिएको छ । एउटै फार्ममा साढे तीन सयभन्दा बढी बङ्गुर मरेका छन् । 

अहिले यो रोग कैलालीको भजनी नगरपालिका, कैलारी गाउँपालिका, गौरीगङ्गा नगरपालिका, धनगढी उपमहानगरपालिका लगायतमा फैलिएको छ । 

यसैगरी, कञ्चनपुरको शुक्लाफाँटा, भीमदत्त लगायत विभिन्न नगरपालिकामा अफ्रिकन स्वाइन फिभरबाट बङ्गुर मरिरहेका छन् । दुवै जिल्लामा गरेर अहिलेसम्म पाँचदेखि सात हजारसम्म बङ्गुर  अफ्रिकन स्वाइन फिभरबाट मरिसकेको डा. जोशीले बताउनुभयो । 

अफ्रिकन स्वाइन फिभर रोकथामका लागि रोग देखा परेको फर्मको सबै बङ्गुर मारेर निसङ्क्रमण गरिन्छ । तर, बँदेलको हकमा भने यो सम्भव नरहेको जनाइएको छ । साभार गोरखापत्र