पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका ९ मिलनचौकमा यात्रुवाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । उहाँको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुधवार बेलुकी ६ : ४५ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प ४९९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट काकरभिट्टातर्फ गइरहेको मे १ ख २३२१ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा दुर्घटनामा परेर दमक –५ बस्ने निर्मल दासको मृत्यु भएको हो । 

मोटरसाइकलको पछाडि सवार सौरभ मदक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा संलग्न ध्रुवतारा यातायातको सो बस र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले दुर्घटनाबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।