काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको ' योसिं ' लिङ्गो ठड्याइएको छ । यससँगै इन्द्रजात्रा पर्व विधिवत रुपमा सुरु भएको छ ।

भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिन बसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको छ । त्यो दिन काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार केन्द्रीय मानन्धर संघको टोलीले भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलबाट काटेर ल्याएको लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ ।इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि शुरु हुने जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्र जात्राको प्रचलन जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ ।इन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् । जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुबाट पाहुना बोलाउन थालेको हो ।

ती पाहुनालाई ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको छ ।