काठमाडौँ, वैशाख २७ गते ।स्थानीय निर्वाचनका दिन बदली भई वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारदेखि निर्वाचनको भोलिपल्ट शनिबारसम्म बदली भई वर्षा हुने महाशाखाले जनाएको हो । मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ । महाशाखाले स्थानीय तह निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान गरेको हो । 

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मञजु बसीले अहिलेको मौसम विश्लेषण गर्दा निर्वाचनका दिन शुक्रबर बढी असर देखिन सक्ने बताउँदै भन्नुभयो, “अरू दिनमा भन्दा निर्वाचनका दिनमा असर बढी हुने देखिएको छ ।” उहाँले शनिबारदेखि मौसममा सुधार आउने जानकारी दिनुभयो । 

निर्वाचनका दिन शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । महाशाखाले  प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले मौसम बुलेटिनमा उल्लेख गरेको छ । मधेस, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । 

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । साथै हाल दक्षिण बङ्गालको खाडीमा चक्रवात् विकसित भएको र त्यसको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।