राहदानी विभागमा बिचौलियाको हैकम अझै कम हुन सकेको छैन । विभागमा राहदानी लिनेको भीडको लाभ उठाउँदै बिचौलियाको लर्को लाग्ने गरेको छ । राहदानी छिटो दिलाइदिने बहानामा सेवाग्राहीसँग अनावश्यक रकम असुली गर्दै बिचौलियाले आर्थिक लाभ लिने गरेको विभागले स्वीकार गरेको छ ।

गर्मीका बेला अशक्त, गर्भवती र सुत्केरी महिलाका लागि लाइनमा बस्न समस्या हुने गरेको छ । दैनिक तीन हजारभन्दा बढी मानिस विभागबाट राहदानी लिनकै लागि लाइनमा लाग्ने गर्छन् । यो भीड बिचौलियाको आर्थिक लाभको राम्रो स्रोत बन्न थालेको छ । 

विभागका प्रवक्ता शरदराज अरनले बिचौलियाले छिटो काम गराइदिन्छु, हाकिम सबै चिनेको छु भन्दै सेवाग्राहीबाट रकम असुलेको पाइएको जानकारी दिनुभयो । आफ्नो राहदानी बनाउने भन्दै राहदानी परिसरभित्र प्रवेश गरेर फाँटका कर्मचारीलाई अनावश्यक दबाब र प्रलोभनसमेत ती बिचौलियाले दिने गरेको उहाँको दाबी छ । 

झन्डै तीस जना बिचौलियालाई कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ । हरेक दिनजसो एक–दुई जना बिचौलिया पक्राउ पर्ने गरेको विभागले स्वीकार गरेको छ ।

सेवाग्राहीहरू भने समयमा विभागले राहदानी नदिएको अवस्थामा बिचौलियामार्फत छिटो काम हुने गरेको बताउँछन् । बिहानैदेखि लाइनमा बस्ने, कागजपत्र रुजु गराउनेजस्ता काममा पनि सेवाग्राहीसँग थप रकम असुलेर बिचौलियाले काम गर्ने गरेका छन् । विभाग परिसर आसपासमा खुलेका खाजा पसल, फोटोकपी पसललगायका स्थानमा बिचौलियाको समूह बसेर सेवाग्राहीलाई प्रभावित पार्ने गर्छन् ।

झन्डै तीस जना बिचौलियालाई कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ । हरेक दिनजसो एक–दुई जना बिचौलिया पक्राउ पर्ने गरेको विभागले स्वीकार गरेको छ । बिचौलिया नियन्त्रण गर्नकै लागि सादा पोसाकका प्रहरीको टोली विभाग परिसरमा खटाइएको छ तर पनि बिचौलियाले सेवाग्राहीमाझ आफ्नो प्रभाव पार्न छाडेका छैनन् । यसरी पक्राउ परेकालाई सामान्य कारबाहीमा छाडिने कारणले पनि बिचौलिया पुनः फर्केर बिचौलियोकै काममा आउने गरेको विभागका कर्मचारी बताउँछन् । 

हालसम्म जारी भएका राहदानीमा स्वदेश र विदेशस्थित विमानस्थलको परीक्षण स्थलबाट कुनै गुनासो नआएको प्रवक्ता अरनले बताउनुभयो । तथापि ३४ पाना र ६६ पानाको राहदानीका हकमा केही अन्योल देखिएको उहाँले स्वीकार गर्नुभयो । आफूलाई कुन प्रकारको राहदानी चाहिन्छ भन्ने बुझ्दै नबुझी पहिले ६६ पानाको राहदानीको शुल्क बुझाउने र पछि सच्याउँदै ३४ पानाको राहदानीको फाराम भर्ने गरिएको पाइएको उहाँले सुनाउनुभयो । जसका कारण नागरिकले बढी तिरेको रकम फिर्ता लिन निकै झन्झट हुने गरेको छ । 

माग उच्च

विद्युतीय राहदानीको माग उच्च रूपमा बढेको छ । यसअघि कायम रहेको मेसिनले पढ्ने (एमआरपी) राहदानी वितरण बन्द भएसँगै विद्युतीय राहदानीको माग उच्च भएको हो । माग बढ्दै जाँदा हरेक महिना एक लाख प्रतिभन्दा बढी राहदानी जारी हुन थालेको जानकारी विभागले दिएको छ । 

राहदानी लिनका लागि विभागले तोकेका सबै इलाका, जिल्ला र प्रदेशबाट विद्युतीय राहदानी वितरण हुन थालेकाले पनि यसको वितरणको सङ्ख्या उच्च रूपमा बढेको प्रवक्ता अरनले बताउनुभयो । विभागबाट मात्र दैनिक दुई हजार पाँच सयप्रति विद्युतीय राहदानी जारी हुने गरेको छ ।