काठमाडौँ, १८ जेष्ठ : सांसदले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गर्नुभएको छ। राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरूले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गर्नुभयो।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो। देशभित्र बारम्बार भइरहेका हवाई दुर्घटनाको अनुसन्धान गरी यसको निर्मुलिकरणका उपाय अपनाउन सबै निकायले चासो दिनुपर्ने उहाँको भनाइ थियो।

नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले हवाई यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्नुभयो। उहाँले अहिले नेपालमा ४० वर्ष भन्दा बढी पुराना जहाज चलिरहेकाले उडान सुरक्षामा चुनौती थपिएको भन्दै हवाई यातायातलाई गुणस्तरीय र विश्वसनीय बनाउ सरकारको ध्यान जान जरुरी भएको उल्लेख गर्नुभयो।

यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि बिहान ९:५५ बजे उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन भई सोमबार बिहान मुस्ताङ्को थासाङस्थित सानोसुरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। उक्त विमानमा सवार तीन चालक दलका सदस्य र १९ यात्रुगरी कूल २२ जनाको निधन भएको थियो। 

-रासस