पाल्पा, जेठ २१ गते । भाडामा यात्रु ओसारपसार गरेका कारण एक एम्बुलेन्स कारबाहीमा परेको छ । जिल्लाको रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु बोकेको भन्दै ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो । 

बिरामी बोक्नेका लागि मात्र प्रयोग हुने एम्बुलेन्सले यात्रु बोकेको प्रमाण फेला परेपछि कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । 

तानसेनको प्रभासदेखि यात्रु लिएर रामपुर जाने क्रममा बगनासकाली –१, स्थित चिर्तुङ्धारामा चेकजाँचका क्रममा बा. २ झ १७४३ नम्बरको एम्बलुेन्सले यात्रु बोकेको पाइएको उहाँले जानकारी दिनुभयो । 

एम्बलुेन्सलाई चेकजाँच गर्नेक्रममा चार जना यात्रुबाट ६ सय २५ का दरले भाडा लिएको पाइयो मल्लले भन्नुभयो । पहिलो पटक भनेर एम्बुलेन्सलाई एक हजार जरिवाना गरेर छाडिएको छ । 

रामपुर अस्पताल व्यवस्थापन समितिले यात्रु बोकेको र भाडा लिएको विषयमा छानविन गर्ने जनाएको छ । पछिल्लो समय एम्बलेन्सले यात्रु बोक्ने तथा अन्य व्यक्तिका खाद्य तथा कृषि सामग्री बोकेको गुनासो बढेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद ढकालले छानविन गरेर दोषीलाई कारबाही गरिने जानकारी दिनुभयो ।