काठमाडौँ, माघ १२ गते । बीमा समितिले नियामक निकाय बीमा समितिले जलवायु जोखिमसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ । यो निर्देशिका २०७९ साउन १ गतेदेखि लागू हुने समितिले जनाएको छ । यो निर्देशिकाले जीवन तथा निर्जीवन बीमा कम्पनीले वार्षिक प्रतिवेदनमा जलवायुसम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाउनुपर्ने व्यवस्था छ ।

बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नुका साथै जलवायु परिवर्तनबाट बीमकमा आइपर्ने जोखिम तथा त्यसको प्रतिकार्य स्वरूप उनीहरूबाट भएका कार्यको मूल्याङ्कन गर्न यो निर्देशिका जारी गरिएको समितिले जनाएको छ । निर्देशिकाअनुसारको विवरण कुनै कारणले प्रकाशन नगरेमा कम्पनीले सोसम्बन्धी कुनै वैकल्पिक सूचना प्रकाशन गरेको छ वा छैन वा जलवायु जोखिमसम्बन्धी विवरण बीमकको पोर्टफोलियोसँग सान्दर्भिक भए वा नभएको वा त्यस्तो विवरण उपलब्ध हुन नसक्नाका कारण स्पष्ट खुलाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिका लागू भएको मितिले तीन वर्ष पूरा भएपछि बीमकले नयाँ बीमा योजना तयार गर्दा सोको बीमा शुल्क निर्धारणमा जलवायु जोखिमलाई कसरी समाविष्ट गरिएको छ भन्ने समेत स्पष्ट रूपमा खुलाउनुपर्ने निर्देशिकामा उल्लेख छ । समितिका अनुसार जलवायुसम्बन्धी जोखिम तथा जलवायु जोखिम भन्नाले स्थिरता जोखिमको उपवर्गका रूपमा रहेका जलवायु परिवर्तन वा यससँग सम्बन्धित भौतिक, सङ्क्रमण वा दायित्व जोखिमका कारणले आइपर्ने जोखिम हो । बीमा कम्पनीले जलवायु जोखिमको प्रभावसम्बन्धी विवरण वेबसाइटमार्फत प्रकाशित गरी त्यस्तो जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्नेसम्बन्धमा ग्राहकलाई सुझाव दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।