बिजुवार (प्युठान), पुस १९ गते । प्युठान प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई २१ वर्षपछि पक्राउ गरेको छ । एक वर्ष ११ महिना ७ दिन कैद सजाय भई फरार रहेको माण्डवी गाउँपालिका ५ बस्ने कृष्णबहादुर घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको विशेष टोलीले माण्डवी गाउँपालिका– ३ चकचकेबाट सोमबार घर्तीलाई पक्राउ गरेको हो ।

घर्तीउपर २०५७ साल चैत ११ गते सो कैद सजाय हुनेगरी प्युठान जिल्ला अदालतबाट मुद्दा फैसला भएपछि फरार रहेका थिए । पक्राउ परेका घर्तीलाई सोमबार जिल्ला अदालत प्युठानमा पेसगरी कैद भुक्तान गर्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रबक्ता, प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।