बेनी, माघ २१ गते । हिमालपारीको जिल्ला मुस्ताङको अधिकांश भूभागमा बाक्लो हिमपात हुँदा चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ । हिमपातकै कारण बेनी–जोमसोम–कोरला सडकखण्डको मुस्ताङतर्फ बाटो अवरुद्ध भएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जिल्लाको पाँचवटै गाउँपालिकामा हिमपात भएको छ । बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्म हिमपात भएका कारण जिल्लाभित्रका सडकमा यातायातका साधनहरु बन्द भएका छन् । ‘सडकमा हिउँ जमेका कारण सवारी सञ्चालन गर्ने अवस्था छैन’, प्रजिअ शर्माले भन्नुभयो । हिमपातले गर्दा सडक सुचारु नभएकाले म्याग्दीबाट मुस्ताङतर्फ यातायात सञ्चालन हुन नसकेको प्रजिअ शर्माले बताउनुभयो ।

उपल्लो मुस्ताङका दुईवटा गाउँपालिका लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा बिहानदेखि सञ्चार सम्पर्क टुटेको प्रजिअ शर्माको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको छैन, तर चिसो बढ्नुका साथै सडक अवरुद्ध भएको छ ।” मुस्ताङको तल्लो भेगको घाँसादेखि लेतेसम्म सामान्यतयाः ठूला गाडी चल्न सक्ने अवस्था रहेको भए पनि अन्यत्र कतै पनि कुनै पनि प्रकारको गाडी चल्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

हिमपातले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारी बालीलाई राम्रो गर्ने शीतोष्ण बागवानी फार्म मार्फाका निमित्त प्रमुख पद्म आत्रेयले बताउनुभयो । बिहीबार बेलुका हावाहुरीसहितको वर्षाले गर्दा विद्युत अवरुद्ध भएको निलगिरी उपभोक्ता सहकारीको कार्यालय प्रमुख सनप्रसाद थकालीले बताउनुभयो । मुस्ताङमा नीलगिरी उपभोक्ता सहकारीमार्फत विद्युत वितरण हुने गरेको छ ।