सन् २०१२ मा सम्पन्न १८औं महाधिवेशनबाट महासचिवमा निर्वाचित चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि पनि निर्वाचित हुने अनुमान गरिएको छ। यद्यपि, महाधिवेशनले भावी प्रधानमन्त्री, महत्त्वपूर्ण निर्णय गर्ने शक्तिशाली स्थायी समिति र पोलिटब्युरोमा कसलाई चयन गर्छ भन्नेमा वृहद् चासो छ। चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सात सदस्यीय हुन्छ भने पोलिटब्युरोमा २५ जना सदस्य रहन्छन्।

लगातार दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहन नपाउने व्यवस्था सन् २०१८ मै हटिसकेको छ। योसँगै सीको तेस्रो कार्यकालका लागि पनि महासचिव हुने ढोका खुलेको छ।

अन्य नेताका लागि ६८ वर्षको उमेरहद लागू हुँदै आए पनि शक्तिशाली राष्ट्रपतिका लागि यो व्यवस्था समेत लागू नहुने अनुमान गरिएको छ। सन् २००३ सम्म राष्ट्रपति रहेका च्याङ चमिनको वेलादेखि नै ६७ वर्षसम्मका नेता आगामी कार्यकालका लागि निर्वाचित हुन सक्ने भए पनि ६८ वर्ष पुगेका नेता भने बाहिरिने अभ्यास छ। राष्ट्रपति सी ६८ वर्षको उमेर हद नाघिसकेका भए पनि उनी पदमा अविछिन्न रहने अनुमान छ।

१९औँ महाधिवेशनबाट निर्वाचित स्थायी समितिका सातमध्ये राष्ट्रपति सीबाहेक राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु र प्रथम उपप्रधानमन्त्री हान चङको उमेर ६८ वर्षभन्दा धेरै छ। त्यसैगरी, आधा दर्जन पोलेटब्युरो सदस्यको उमेर पनि ६८ वर्षमाथि रहेकाले उनीहरू पदमा दोहरिने वा स्थायी समितिमा उक्लिने सम्भावना कम छ। वाशिङ्टन पोस्टसँग कुरा गर्दै अमेरिकन विश्वविद्यालयका समाजशास्त्री याङ चङले राष्ट्रपति सीका पक्षमा रहने राजनीतिकर्मीलाई उमेर हद नलाग्ने सम्भावना व्यक्त गरेका छन्।

राष्ट्रपति सीपछिको शक्तिशाली मानिने प्रधानमन्त्री पदमा को निर्वाचित होलान् भन्नेमा चीनबारे चासो राख्नेको कौतुहलता छ। चिनियाँ कम्युनिस्ट पार्टीभित्रको विश्लेषण गर्दै आएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले २५ सदस्यीय पोलिटब्युरोका एक सदस्य हु छुन्ह्वा भावी प्रधानमन्त्रीका रुपमा रोजिनसक्ने अनुमान गरेका छन्। उनी प्रधानमन्त्री रोजिएमा चीनको सुधार र खुलापनको नीति कायम रहेको मानिने निक्केई एशियाले विश्लेषण गरिएको छ।


अन्य उच्च नेतृत्वका तुलनामा कम उमेर (५९ वर्ष) का छुन्ह्वा प्रधानमन्त्री लि खच्याङ र पूर्व राष्ट्रपति हु चिन्ताओ नजिक मानिन्छन्। राष्ट्रपति सी चिनफिङ शक्तिशाली देखिए पनि संसारभरिका राजनीतिक दलमा जस्तै चिनियाँ कम्युनिष्ट पार्टीभित्र पनि शक्ति संघर्ष कायम रहेको मानिन्छ। शक्ति सर्घषबीच शक्ति सन्तुलन मिलाउनुपर्ने बाध्यताका कारण पनि हु छिन्ह्वा प्रधानमन्त्रीका रुपमा चयन हुनसक्ने अनुमान गरिएको छ।

प्रधानमन्त्री लि खच्याङजस्तै कम्युनिष्ट युथ लिगको पृष्ठभूमिबाट आएका हुले आफ्नो राजनीतिक जीवनको लामो समय नेपालसँग सीमा जोडिएको तिब्बतमा बिताएका थिए। सन् २००८ मा हपेई प्रान्तको गभर्नर हुँदा उनी सबैभन्दा कम उमेरमा गभर्नर हुने नेता मानिएका थिए। त्यसपछि उनले इनर मंगोलिया र क्वाङ्तोङ प्रान्तमा काम गरे।

हुबेई प्रान्तको किसान परिवारमा जन्मिएका उनी कलेज भर्ना हुन आवश्यक मानिने परीक्षा काउकाओमा प्रदेशभरिमा प्रथम भएका थिए। एशियाको हार्बड भनिने पेकिङ विश्वविद्यालयबाट चिनियाँ भाषा र साहित्यमा स्नातक गरेपछि उनी तिब्बतमा राजनीतिक काम गर्न पुगेका थिए। तिब्बतको सुधार र विकासमा उनको ठूलो योगदान रहेको मानिन्छ।

राजनीतिक शक्तिमा छिटो छिटो उपल्लो स्थानमा पुगे पनि उनी ‘लो प्रोफाइल’ कायम गर्न चाहने चिनियाँ अधिकारी मानिन्छन्। उनको आफ्नो व्यक्तिगत जीवनका विषयमा पनि खुल्न नचाहने स्वभाव रहेको मानिएको छ।

अन्तर्राष्ट्रिय समाचार समिति रोयटर्सले क्वाङ्तोङ प्रान्तको पार्टी पूर्व सचिव तथा पोलिटब्युरो सदस्य वाङ याङ भावी प्रधानमन्त्री हुनसक्ने अनुमान गरेको छ। उनको उद्योग प्रवर्द्धन गर्ने क्वाङ्तोङ मोडलको विकासलाई चीनमा स्रहना गरिन्छ। यद्यपि, ६७ वर्ष पुगिसकेका कारण उमेर उनका लागि प्रतिकूल मानिने अनुमान छ।

वाशिङ्टन पोस्टले छोङ्छिङ प्रान्तका पार्टी सचिव छन् मिनअर पनि प्रधानमन्त्रीका रुपमा रोजिइन सक्ने उल्लेख गरेको छ। पार्टी महासचिव तथा राष्ट्रपति सीप्रति प्रतिबद्ध मानिने नेता छन् ६२ वर्षका छन्। त्

त्यस्तै, पोलिटब्युरो सदस्य रहेका ६० वर्षीय दिङ सुईस्याङ तथा शाङ्हाईका पार्टी सचिव ६३ वर्षीय लि छ्याङ पनि सम्भावित प्रधानमन्त्री हुनसक्ने भनी वाशिङ्टन पोस्टले विश्लेषण गरेको छ।