नेपाली तेक्वान्दो आकाशमा बुढानीलकण्ठकी उदीयमान खेलाडी कृतिका कटवाल एक नयाँ ताराका रूपमा उदाएकी छन्। हालै काठमाडौँको दशरथ रङ्गशालामा सम्पन्न 'चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२६' मा कृतिकाले स्वर्ण पदक जित्दै देश र नगरको शिर उँचो बनाएकी हुन्।
२६ देशका खेलाडीलाई पछि पार्दै ऐतिहासिक जित
फागुन ४ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको यस प्रतिष्ठित च्याम्पियनसिपमा विश्वका २६ देशका हस्ती खेलाडीहरूको सहभागिता थियो। कृतिकाले -४२ केजी तौल समूह अन्तर्गत अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धामा आफ्नो कौशल प्रदर्शन गरिन्। उनले फाइनल खेलमा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै स्वर्ण पदक आफ्नो पोल्टामा पारेकी हुन्।
मैदानमा उनको आत्मविश्वास, प्राविधिक सन्तुलन र संयमता देख्दा उपस्थित दर्शक र प्रशिक्षकहरू समेत प्रभावित भएका थिए।
निरन्तरको 'गोल्डेन' यात्रा
कृतिकाका लागि स्वर्ण पदक नौलो भने होइन। यसअघि सम्पन्न '१३औँ कोरियन एम्बेसेडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप' मा पनि उनले स्वर्ण पदक जितेर आफ्नो प्रतिभा प्रमाणित गरिसकेकी छन्। एकपछि अर्को अन्तर्राष्ट्रिय पदक जित्नुले उनले नेपाली तेक्वान्दोको भविष्य उज्ज्वल रहेको संकेत गरेकी छन्।
प्रशिक्षण र पृष्ठभूमि
बुढानीलकण्ठ नगरपालिका–१० निवासी कृतिका विगत लामो समयदेखि तेक्वान्दोमा समर्पित छिन्। उनले हाल फेयरील्याण्ड तेक्वान्दो डोजाङ (Fairyland Taekwondo Dojang) मा प्रशिक्षकहरूको निगरानीमा कडा मिहिनेत र नियमित प्रशिक्षण लिइरहेकी छन्। सानै उमेरमा प्राप्त यो सफलता उनको लगाव र अनुशासित प्रशिक्षणको प्रतिफल हो।
कृतिकाको यो ऐतिहासिक सफलतापछि बुढानीलकण्ठ नगरवासी र खेलकुद प्रेमीहरूले उनलाई बधाई दिइरहेका छन्। स्थानीय खेलकुद विज्ञहरू भन्छन्— "कृतिका जस्ता प्रतिभालाई राज्य र स्थानीय सरकारले उचित प्रोत्साहन र लगानी गर्न सके भोलि ओलम्पिक जस्ता ठुला मञ्चमा पनि नेपालको झण्डा फहराउन गाह्रो छैन।"
नेपालको नाम विश्वसामु परिचित गराउन सफल कृतिका कटवाललाई उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना!
उनको मेहनत, अनुशासन र निरन्तर अभ्यासकै कारण उनी आज बुढानिलकण्ठकै सफल तथा आशालाग्दी तेक्वान्दो खेलाडीका रूपमा स्थापित भएकी छन्। कृतिकाको यो उपलब्धि केवल स्थानीय स्तरमै सीमित नभई सिंगो राष्ट्रकै गर्वको विषय बनेको छ।
लगातारको स्वर्णिम यात्रासँगै कृतिका कट्वाल नेपाली तेक्वान्दोको उज्ज्वल भविष्यका रूपमा अघि बढिरहेकी छन्।

प्रतिकृयाहरु