हेटौँडा — तिब्बतबाट आएको भोटेकोशी नदीको आकस्मिक बाढीका कारण बागमती प्रदेशका विभिन्न जिल्लामा हालसम्म ५५ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बुधबार साँझ ६ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखामा ती शव फेला परेका हुन्।
प्रदेश प्रहरीका अनुसार फेला परेका शवमध्ये २२ जना महिला र ३१ जना पुरुष रहेका छन् भने दुई जनाको पहिचान खुल्न बाँकी छ। जिल्लागत रूपमा रसुवामा एक, नुवाकोटमा ११, धादिङमा १६, चितवनमा १८ र गोरखामा नौ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट ९३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ४३, नुवाकोटबाट ४७ र धादिङबाट तीन जना रहेका छन्। घाइतेमध्ये छ जनालाई थप उपचारका लागि काठमाडौं, ३६ जनालाई धुन्चे र एक जनालाई नुवाकोट लगिएको प्रहरीले जनाएको छ। एक जनाको शव काठमाडौं ल्याइएको छ।
बाढीपछि बेपत्ता तथा मृतकको खोजीका क्रममा धादिङ र चितवनका विभिन्न स्थानमा केही मानव अङ्गसमेत फेला परेको प्रदेश प्रहरीले जनाएको छ। फेला परेका शव तथा अङ्गको पहिचान र घटनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ। बेपत्ताको खोजी, फेला परेका शवको पहिचान तथा घटनाबाट भएको मानवीय क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा सडक, सञ्चार तथा अन्य पूर्वाधारमा समेत क्षति पुगेकाले उद्धार तथा राहत कार्यमा चुनौती देखिएको छ। प्रहरीले प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन तथा सुरक्षाकर्मी र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको छ।

प्रतिकृयाहरु