झापामा दुई महिने शिशुको डाइपरमा लुकाएर भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बिहीबार साँझ ५:१५ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटोलाई शङ्का लागेर जाँच गर्दा शिशुले लगाएको डाइपरभित्र प्लास्टिकले पोका पारेर ल्याएको अवस्थामा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा अटो चालक भारतको किसनगञ्ज वडा नं. १२ घर भएर हाल बिर्तामोड–५ बस्ने ३० वर्षीय मोहित आलम, उहाँकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन, दुई महिनाका छोरा र सोही अटोमा सवार ३८ वर्षीय मोहम्मद तजरुल रहेका छन्।

उनीहरूको साथबाट प्लास्टिकसहित ९ ग्राम ८५ मिलिग्राम र प्लास्टिकबाहेक ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। अटो र पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान भइरहेको छ।