काठमाडौँ — काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोसी नदी क्षेत्रमा बेपत्ता भएपछि परिवार, आफन्त र स्थानीयवासी शोकमा छन्।
गत बुधबार भुम्लु गाउँपालिका–८, दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिर आसपासबाट बेपत्ता भएका उनीहरूको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोर तथा उद्धार टोलीले ड्रोन र र्याफ्टिङ टोलीको सहयोगमा दोलालघाटदेखि तेमाल तथा सिन्धुलीको सीमावर्ती क्षेत्रसम्म खोजी गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार सम्भावित स्थानहरूमा निरन्तर खोजी भइरहेको भए पनि हालसम्म उनीहरू फेला पर्न सकेका छैनन्।
स्थानीय जनप्रतिनिधि तथा आफन्तका अनुसार पराजुली दम्पतीबीच लामो समयदेखि राम्रो सम्बन्ध थियो। तर, दुवैजना गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका कारण पछिल्लो समय उनीहरू मानसिक रूपमा निकै तनावमा रहेको बताइएको छ।
तिलकुमारी विगत दुई वर्षदेखि बोनम्यारोसम्बन्धी क्यान्सरको उपचार गराइरहेकी थिइन्। स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनको दैनिक जीवनसमेत कठिन बनेको परिवारका सदस्यले बताएका छन्।
उता, श्रीमतीको उपचार र स्याहारसुसारमा सक्रिय रहेका केदारनाथमा पनि घटनाको करिब एक साताअघि मात्रै प्रोस्टेटसम्बन्धी स्वास्थ्य समस्या पुष्टि भएको थियो। चिकित्सकले थप उपचार तथा शल्यक्रियाको सुझाव दिएपछि उनी थप चिन्तित बनेको आफन्तको भनाइ छ।
अस्पताल लैजाने भन्दै घरबाट निस्किएका थिए
घटनाको दिन केदारनाथले अस्वस्थ श्रीमतीलाई साथमा लिएर घरबाट निस्किएका थिए। परिवारका सदस्यले उनलाई अस्पताल लैजान लागेको ठानेका थिए। उनीहरू रिजर्भ ट्याक्सीमार्फत दोलालघाट पुगेको र त्यसपछि दम्पती सम्पर्कविहीन भएको बताइएको छ।
स्थानीयका अनुसार मन्दिर आसपास पुगेपछि उनीहरूलाई देख्ने केही व्यक्तिले घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरी तथा स्थानीयको सहयोगमा खोजी तथा उद्धार प्रयास सुरु गरिएको थियो।
लामो समयदेखि गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका दम्पतीको अवस्था र उनीहरूले भोगिरहेको मानसिक तनावबारे परिवारले जानकारी दिएपछि घटनाको पृष्ठभूमि थप संवेदनशील देखिएको छ।
प्रहरीले भने घटनाको वास्तविक कारण र परिस्थितिबारे अनुसन्धान तथा खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। सुनकोसीको तीव्र बहावका कारण खोजी चुनौतीपूर्ण बनेको भए पनि उद्धार टोलीले सम्भावित तल्लो तटीय क्षेत्रमा खोजी जारी राखेको छ।
पराजुली दम्पतीको अवस्था पत्ता लाग्ने आशामा परिवार तथा स्थानीयवासी प्रतीक्षामा छन्।

प्रतिकृयाहरु