सर्लाही — सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट बयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटर रोकेर जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।
प्रहरीका अनुसार स्कुटरको डिकी, अगाडिको फुटबोर्ड तथा चालकले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा नेपाली रुपैयाँ फेला परेको थियो।
विभिन्न दरका नोट बरामद
प्रहरीका अनुसार बरामद रकममा:
-
एक हजार रुपैयाँ दरका ३ हजार ५०० थान
-
पाँच सय रुपैयाँ दरका ३ हजार १०८ थान
-
एक सय रुपैयाँ दरका ७०० थान
-
५० रुपैयाँ दरका २०० थान
नोट रहेका छन्।
बरामद रकमको स्रोत खुल्न नसकेपछि प्रहरीले रकमसहित स्कुटर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणका क्रममा प्रहरी र चालक घाइते
प्रहरीले नियन्त्रणमा लिने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक महोत्तरीको गौशाला नगरपालिका–१२ निवासी ५७ वर्षीय जगन्नाथ महतो कोइरी घाइते भएका छन्।
उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि म्याक्स अस्पताल मलङ्गवा लगिएको थियो। प्रहरीले उनको अवस्था हाल सामान्य रहेको जनाएको छ।
सो क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्र यादव समेत सामान्य घाइते भएका थिए। उनीहरू प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज भइसकेका छन्।
रकमको स्रोतबारे अनुसन्धान जारी
प्रहरीले बरामद ५१ लाख ३४ हजार रुपैयाँ, स्कुटर र पक्राउ परेका कोइरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
रकम कहाँबाट प्राप्त भएको हो, यसको प्रयोजन के थियो र कारोबारसँग सम्बन्धित अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिकृयाहरु