काभ्रे — रोसी खोलामा आएको बाढी तथा पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्ग मंगलबार साँझसम्म सञ्चालनमा ल्याउने गरी मर्मत तथा पुनःनिर्माणको काम तीव्र पारिएको छ। वर्षा रोकिएसँगै खोलाको बहाव घटेपछि बाढीले कटान गरेका स्थानमा नयाँ डाइभर्सन निर्माण तथा पहिरो पन्छाउने कामलाई प्राथमिकता दिइएको हो।

शनिबारदेखि राजमार्ग अवरुद्ध हुँदा पूर्वी तराई तथा मध्यपहाडी जिल्लाबाट संघीय राजधानी काठमाडौं आवतजावत गर्ने यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

राजमार्ग अवरुद्ध भएपछि सोमबार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिन कार्कीसहितको टोलीले क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार बाढीले क्षति पुर्‍याएको कटुञ्जे (घुमाउने) क्षेत्रमा बगाएको सडकको विकल्पमा एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने गरी भित्री ट्र्याक खोलिसकिएको छ। यस्तै चौकीडाँडा क्षेत्रमा खोलाको किनारबाट नयाँ डाइभर्सन निर्माण भइरहेको छ।

चौकीडाँडामा भइरहेको कामको प्रगति हेर्दा मंगलबार बिहानसम्म डाइभर्सन निर्माण सम्पन्न हुने अधिकारीले बताउनुभयो। उहाँका अनुसार सडक डिभिजन भक्तपुरमार्फत निर्माण व्यवसायीलाई मंगलबार दिउँसोसम्म राजमार्ग सञ्चालन हुने गरी काम अघि बढाउन निर्देशन दिइएको छ।

सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले राजमार्गअन्तर्गत चार सयबेंसी, दाउन्ने र माम्तीलगायतका क्षेत्रमा खसेको पहिरो पन्छाउने काम सम्पन्न भइसकेको जानकारी दिनुभयो।

उहाँका अनुसार चौकीडाँडामा बाढीले बगाएको डाइभर्सन पुनःनिर्माणका लागि पाँचवटा स्काभेटर र बुलडोजर परिचालन गरिएको छ। घुमाउने क्षेत्रमा बगाएको सडकमा भित्री ट्र्याकबाट एकतर्फी यातायात सञ्चालनको तयारी भइरहेको तथा जाइका खण्डमा पनि मर्मत कार्य तीव्र पारिएको उहाँले बताउनुभयो।

“राजमार्गका विभिन्न स्थानमा आएको पहिरो हटाउने काम सकिएको छ। बाढीले बगाएका (वासआउट) खण्ड जोड्ने काममा केन्द्रित भएकाले मंगलबार दिउँसोसम्म यातायात सञ्चालन गर्ने गरी डाइभर्सनको काम भइरहेको छ,” डिभिजन प्रमुख योगेशले भन्नुभयो, “मौसमले साथ दिए मंगलबार दिउँसो वा बढीमा साँझसम्म बीपी राजमार्गमा यातायात पुनः सञ्चालन हुनेछ।”

रोसी खोलाको बाढीले चौकीडाँडा र कटुञ्जेमा करिब तीन–तीन सय मिटर, पिप्लेमा २८५ मिटर तथा माम्तीमा करिब एक सय मिटर डाइभर्सन सडक बगाएको थियो।

त्यस्तै दाउन्ने–कालोपुल क्षेत्रमा करिब पाँच सय मिटर र चार सयबेंसीमा करिब एक सय मिटर सडकमा पहिरो खसेको बताइएको छ।

क्षतिग्रस्त सडक खण्डमा डाइभर्सन निर्माण, भित्री ट्र्याक खोल्ने तथा पहिरो र बाढीले थुपारेको माटो तथा ढुंगामाटो हटाउने कामलाई तीव्रता दिइएको छ। मौसम अनुकूल रहे मंगलबार साँझसम्म बीपी राजमार्गमा यातायात पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको छ।