नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टि २० विश्वकप एसिया क्वालिफायरमा उपविजेता बनेर विश्वकप टि २० मा चयन हुन सफल नेपाल क्रिकेट टिमलाई ५० लाख रुपियाँले पुरस्कृत गर्ने भएको छ । 

आठ राष्ट्र सहभागी एसिया छनोट प्रतियोगिताको फाइनलमा पुगेर नेपाल र ओमान सन् २०२४ मा हुने टि २० विश्वकपमा चयन भएका थिए । 

विश्वकप टि २० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपालले सन् २०१४ पछि टि २० विश्वकप खेल्दैछ ।

क्यानको सोमबार बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । 

यसैगरी, हालै मलेसियामा सम्पन्न एसिसी पुरुष यु १९ क्रिकेट प्रिमियर कप क्रिकेट प्रतियोगितामा च्याम्पियन हुने नेपाल टिमका सम्पूर्ण सदस्यलाई पनि प्रोत्साहन स्वरुप जनही ५० हजार रुपियाँले पुरस्कृत गर्ने निर्णय भएको छ ।

नेपालको यु १९ टिम च्याम्पियन भएर यु १९ एसिया कपमा चयन हुन सफल भएको थियो ।

यसैगरी, क्यानले आइसीसी टि २० विश्वकप एसिया क्वालिफायरको फपाइनलमा विक्री भएको टिकटबाट संकलित कूल रकमको ५० प्रतिशत जाजरकोटमा गएको भूकम्पबाट पीडितहरुको उद्धारका लाग सहयोगस्वरुप उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

महिला टिमले हङकङमा खेल्ने

क्यानले चार राष्ट्रबिच हुने हङकङ महिला टि २० शृङ्खलामा नेपालको सहभागी हुने जानकारी पनि दिएको छ । क्रिकेट हङकङ चाइनाको आयोजनामा कात्तिक २९ देखि सो अन्तर्राष्ट्रिय महिला टि २० शृङ्खला हुँदैछ ।