नक्सालस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबाट दुई लाख १८ हजार रुपैयाँ बराबरको मदिरा र खाद्यवस्तु चोरी गरी फरार एक व्यक्ति पक्राउ परेका छन् ।

यही वैशाख २० गते भाटभटेनी सुपर मार्केटको भुइँतलामा रहेको ग्रोसरीबाट विभिन्न ब्राण्डका मदिरा, चुरोट, काजु र पिस्तालगायत उच्च मूल्यका खाद्यवस्तु चोरी गरी भागेका दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय विमल श्रेष्ठलाई प्रहरीले भक्तपुरको थिमीबाट नियन्त्रणमा हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार उनलाई सार्वजनिक गरेको छ । श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

यसैबीच, प्रहरीले एक करोड ५० लाख रुपैयाँ रकम बराबरको जरिवाना भएको मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौँबाट झण्डै दुई वर्षअघि बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड रुपैयाँ जरिवाना ठहर भएका ४७ वर्षीय अमित अग्रवाललाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि अदालतसमक्ष बुझाइएको प्रहरीले जनाएको छ ।