धादिङ, आश्विन २६ गते।

गत वर्षको वडा दशैँका बेला ८० रुपैयाँ प्रतिकिलोमा बजारमा बिक्री भएको गोलभेँडाको मूल्य अहिले दोब्बर भन्दा पनि बढी भएको छ । अहिले बजारमा उपभोक्ताले १ किलो गोलभेँडा १ सय ९० रुपैयाँमा किन्नुपर्छ ।

यस्तै गत वर्ष ६५ देखि ७० रुपैयाँमा बिक्री भएको बोडीको मूल्य यस वर्ष १५० रुपैयाँ पर्छ ।

 अन्य तरकारीको मूल्य पनि यसरी नै अकासिएको छ । जसले गर्दा उपभोक्ताको भान्सा निकै महङ्गो  बनेको छ ।

गत साताको वर्षाले गर्दा हरियो तरकारीमा पनि क्षति पुगेकोले उत्पादनमा केही कमी आएपछि हरियो तरकारीको मूल्य पनि अकासिएको छ ।  

किसानले पनि गत सालको तुलनामा राम्रो मूल्य पाएको भए पनि बिचौलियालाई सरकारले नियन्त्रण गर्न नसक्दा यस्तो अवस्था आएको हो । तरकारी उत्पादक किसानहरू भने अहिले पाएको मूल्यमा सन्तुष्ट नै छन ।  

सरकारले बजार अनुगमनका क्रममा तरकारीजन्य बस्तुहरू बिक्री गर्ने स्थानहरूको अनुगमन नगर्दा र मूल्य निर्धारण गर्न नसक्दा किसान र उपभोक्ता दुवै मर्कामा पर्ने गरेका हुन ।

गत वर्षको तुलनामा धादिङमा यस वर्ष हरियो तरकारीको मूल्य शतप्रतिशत महँगिएको छ ।

व्यापारीहरू भने जिल्लामा उत्पादित तरकारीले अधिकांश बिक्रीका लागि राजधानी लगिने काठमाण्डौँबाट पुनः धादिङको सदरमुकाम ल्याउनुपर्ने भएकोले महँगो पर्न गएको बताउँछन् ।

सदरमुकाम आसपासमा तरकारी उत्पादन कम हुने र यहाँ उत्पादन भएकोले तरकारीले बजार धान्न नसक्ने भएका कारण अधिकांश तरकारीजन्य बस्तुहरू काठमाण्डौँबाट ल्याउनुपर्ने बाध्यता रहेको व्यापारीहरूको भनाइ छ ।जसमा बिचौलियाहरूको नै चलखेल हुने गर्दछ ।

यसको नियन्त्रण गर्न र धादिङमा उत्पादित तरकारीजन्य बस्तु सिधै सदरमुकाम ल्याउन सके पनि मूल्यमा केही कमी आउने देखिन्छ ।