काठमाडौँ, पुस ११ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुनुमा अरुलाई आरोपित नगरेर आफैंलाई चिरफार गरेको बताउनुभएको छ ।

आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टीको आठौं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रचण्डले यस्तो बताउनुभएको हो । प्रचण्डले शान्ति प्रक्रियामा आएपछि आफूहरु कहाँ चुक्यौँ भन्ने कुराको आत्मसमीक्षा महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमा गरेको उल्लेख गर्नुभएको छ ।

‘हामी शान्ति प्रक्रियमा आएपछि कहाँकहाँ चुक्यौँ, विचार, संरचनाको क्षेत्रमा रणनीतिक कुरामा कहाँ कहाँ चुक्यौँ । यो प्रस्तावमा सबैभन्दा बढी आत्मसमीक्षा मैले मेरो गरेको छु’, प्रचण्डले भन्नुभयो, ‘जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो । शान्ति प्रक्रिया, संविधान निर्माणको अवसर मलाई नै मिल्यो । माओवादी कमजोर हुनुमा मैले अरुलाई आरोपित गरेर हुँदैन । मैले आफैंलाई चिरफार गरेको छु ।’

प्रचण्डले आफ्नो दस्तावेजमा सच्चा कम्युनिष्टको आन्दोलनलाई अगाडि बढाउने कुरा समेटेको उल्लेख गर्नुभयो । ‘मेरो दस्तावेजले हामी सबैलाई नेपालमा सच्चा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने विषय प्रस्तुत गरेको छ’, प्रचण्डले भन्नुभयो, ‘तपाईंहरु सबै गम्भीर आत्मसमीक्षाका साथ महाधिवेशनमा प्रस्तुत हुनुहुनेछ भन्ने मेरो विश्वास छ ।’

महाधिवेशनमा विज्ञान र प्रविधिको प्रभावको समीक्षा गरेको उल्लेख गर्नुभयो । विज्ञान र प्रविधिले समाजवादको सम्बन्धलाई आफूले समीक्षा गरेको उहाँले उल्लेख गर्नुभयो । विज्ञान प्रविधिको विकासले धनी र गरिबको खाडल झन् बढेको उहाँको ठहर छ । समाजवादको आवश्यकता अझ बढी भएको आफ्नो दस्तावेजमा उल्लेख भएको उहाँले बताउनुभयो।

यो देशका उत्पीडितको हक र हितका लागि के गर्न सकिन्छ भन्ने नयाँ कार्यनीति र रणनीति प्रस्तुत गरिएको प्रचण्डले बताउनुभएको छ ।

दस्तावेजमा जलवायु परिवर्तनको विषयलाई प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभएको छ । विज्ञान र प्रविधिको विकासमा समुन्द्र भित्रका थुप्रै जलचर नष्ट भएको र मानिसमा देखिएको असरबारे कस्तो भूमिका खेल्न सकिन्छ भन्ने कुरालाई उल्लेख गरेको उहाँले बताउनुभयो । विश्वलाई रोगले किन सतायो भन्ने कुरालाई मन्थन गर्ने योजनासमेत आफूले गरेको प्रचण्डले बताउनुभयो ।