काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।

विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले बिहीबार दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । “यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ”, उहाँले भन्नुभयो, “देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदूषण बढेको थियो । वर्षाका कारण वायु प्रदूषण न्यूनीकरण हुनेछ ।”

मङ्गलबार र बुधबार उपत्यकामा वायु प्रदूषण बढ्दा काठमाडौँ विश्वको नै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको थियो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ थियो । सोमबार दिउँसो एक सय ६५ एक्यूआई रहेको प्रदूषण, मङ्गलबार दुई सय पुगेको थियो । बिहीबार भने प्रदूषण घटेर एक सय ७७ एक्यूआईमा सीमित भएको छ । रासस