काठमाडौँ, फाल्गुन ९ गते । सातौँ संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपालस्थित पाकिस्तान दूतावासको आयोजनामा हुने प्रतियोगिातमा १२ टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि पाकिस्तानका राजदूत सयद हैदर शाहले जानकारी दिनुभयो ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब छन् । समूह ‘बी’ मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी र जीएचसीए छन् ।

समूह ‘सी’ मा आरएस विद्यापिठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह ‘डी’ मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन् । समूहको शीर्ष टोली सेमिफाइनलमा पुग्नेछ । युवा खेलाडीको क्षमता विकास र प्रोत्साहन गर्ने उद्येश्यले प्रतियोगिता आयोजना गर्न लागिएको राजदूत शाहले बताउनु भयो ।

पत्रकार सम्मेलनमा नेपाल क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगिता युवा क्रिकेट खेलाडीहरुका लागि राम्रो प्लेटर्फम रहेको बताउनुभयो । सोही अवसरमा प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरिएको थियो ।