सप्तरीको एक नमुना विद्यालयको भौतिक संरचना निर्माण गर्ने क्रममा लाखौँको इँटा तथा काठ गायव भएको स्थानीयको आरोप छ । अग्निसाइर कृष्णासवरण गाउँपालिका –४ प्रसवनीमा २०१६ सालमै स्थापना भएको महिकर माध्यमिक नमुना विद्यालयमा वर्षौ पुरानो संरचना भत्काएपछि त्यसबाट निस्केका सखुवाका दुईसय बढी कोरो (छानो ठड्याउने काठ) मध्ये तीन हिस्सा काठ तथा सात लाख बराबरको इँटा  ठेकेदारले गायव गरेको विद्यालय अभिभावक संघका सदस्य वेचन खंगले भन्नुभयो ।

सखुवाको प्रशस्त काठ लगाएर साठी वर्षअघि नै बनेको विद्यालयको कक्षा कोठाबीच मोटो इँटाको पर्खाल थियो । त्यो भत्काउँदा विद्यालय प्राङगणले इँटा र काठले भरिएको थियो । तर विद्यालय प्रशासन, व्यवस्थापन समिति र विधालयको कर्ताधर्ता मानिएका शिक्षक हिरालाल सुनरैतको मिलोमतोमा रातारात ठेकेदारले लगेको स्थानीय बुद्धिजिवी मोतीलाल चौधरीले बताउनुभयो ।

चौधरीका अनुसार गत आर्थिक वर्षमा डेढ करोडमा तीन तल्ले भवन निर्माण ठेक्का पाएका पूजा निर्माण कम्पनीले राति ट्रेक्टरमा इँटा लगेको देखेर हामी गाडी रोक्यौ, तर हेडसरले फोन गरेर गाडी जान दिएको थियो । विद्यालय अभिभावक संघका अध्यक्ष शिवानी चौधरीले स्वार्थ र हिनामिनासहितको निर्माण कामले विगत दुई वर्षदेखि विद्यालयको पढाइलेखाई चौपट भएको छ । 

अग्निसाइर कृष्णसवरण ४ का पूर्व वडा अध्यक्ष अरुणकुमार चौधरीकाअनुसार विद्यालयको वाउन्ड्री वाल निर्माणको लागि अनुदान तर्फको ५० लाख बजेट आएको थियो तर त्यसमा पुरानो ईटाको प्रयोग गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक सिंहको मिलोमतोमै विद्यालय प्रशासनद्वारा विद्यालयको ईटा, काठ, कम्पाउन्डमा रहेको रुख समेत काटेर विद्यालयको लाखौको सम्पत्ति हिनामिना गरिएको पूर्व वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

नमुना विद्यालयको वजेट अन्तर्गत आएको दुई करोड ५० लाखमा तीन तल्ले शैक्षिक भवन, बाउन्ड्रीवाल, छात्रावासलगायतका संरचनाहरु बन्दैगरेको विद्यालयका प्रधानाध्यापक उपेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । नयाँ तीन तल्ले शैक्षिक भवन बाहेक विद्यालय आफैंले पुरानो भवनहरूको मर्मतसम्भार रंगरोगन, चमेना गृहसहित भौतिक संरचनाहरू निर्माण गरिरहेको उहाँको भनाइ छ । 

विद्यालयमा रहेको पुरानो ईटा र काठहरु त्यसमै प्रयोग गर्दैआएका छौं, केही व्यक्ति तथा संघले विद्यालयको सम्पत्ति हिनामिना गरेको भनेर विद्यालय प्रशासनमाथि लगाइएको आरोपहरु झूठा रहेको  प्रधानाध्यापक साहले दावी गर्नुभयो ।

पूजा निर्माण कम्पनीका सञ्चालक शत्रुघनप्रसाद गुप्ताका अनुसार साइट क्लियर गर्दा यहाँका सम्पूर्ण पुराना इँटा, काठलगायत सबै सामान ठेक्का कम्पनीको हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मैले नयाँ भवन निर्माण गर्न गत कार्तिकमै पुराना संरचना भत्काएर साइट खाली गर्दा यहाँबाट निस्केका केही पुराना इँटाहरू मेरो व्यक्तिगत घर निर्माणका लागि लगेको हुँ ।”