जिल्लाको एक विद्यालयमा चौध जना विद्यार्थी भर्ना भए पनि तीन जना विद्यार्थी मात्र कक्षामा नियमित उपस्थित हुनेगरेका छन् । सिमकोट गाउँपालिका –३ को लाङ्दु गाउँको महाकाल प्राथमिक विद्यालयमा हाल नियमित पठनपाठनमा सहभागी हुने बिधार्थी सङ्ख्या तीन रहेको विद्यालयका शिक्षकले जनाएका छन् ।

विद्यालयका प्रधानाध्यापक भिमकुमार राईले नियमित विद्यालय आउने बिद्यार्थी तीन जना रहेको बताउनुुभयो । भर्नाको बेला कक्षा ५ सम्म चौध जना बिद्यार्थी भर्ना भए पनि नियमित अध्ययनका लागि विद्यालय आउने बिद्यार्थी कम रहेको बताउनुुभयो । सो विद्यालयमा दुई जना दरबन्दीका शिक्षक रहनुभएको छ । 

विद्यालय आउने बिधार्थीमा कक्षा २ मा २ जना र कक्षा ४ मा एक जना रहेको प्रधानाध्यापक राईले बताउनुुभयो । कक्षामा एक जना शिक्षकले दुई बिधार्थी र अर्को शिक्षकले एक जना बिधार्थी राखेर अध्यापन गर्नुपर्ने बाध्यता रहेको बताउनुुभयो । 

विद्यालयको रेकर्डअनुसार कक्षा १ मा दुुई जना, कक्षा २ मा तीन जना, कक्षा ३ मा चार जना, कक्षा ४ मा दुुई जना र कक्षा ५ मा तीन जनाको उपस्थिति देखिन्छ । भर्ना भएका सबै बिधार्थी विद्यालयमा उपस्थिति नभएको प्राधानाध्यापक राईले बताउनुुभयो । 

विद्यालय रहेको गाउँमा लामा र दलित समुदायको बसोवास छ । लामा समुदायले सदरमुकाम सिमकोट र जिल्ला बाहिर बच्चा पढाउने गर्दैआउनुभएको छ । दलितका बालबालिका मात्र सो विद्यालयमा भर्ना भएका छन् । लामा बस्ती भए पनि चार जना मात्र लामाका बिधार्थी विद्यालयमा भर्ना भएका छन् ।

नियमित विद्यालय आउने बिद्यार्थीलाई पढाउनै पर्ने बाध्यता भएको प्राधानाध्यापक राईले बताउनुभयो ।   गाउँपालिका शिक्षा शाखाका नायव सुब्वा कृष्णप्रसाद आचार्यका अनुसार विद्यालयमा विद्यार्थी संख्या कम भएपनि दिवाखाजाको सुविधा प्रदान गरिदैआएको बताउनुभयो । विद्यालयको अनुगमन गरी सो सुविधा दिने नदिनेबारेमा निर्णय लिइने उहाँले बताउनुभयो ।

विद्यालयमा बिद्यार्थी तीन जना मात्र कक्षामा उपस्थित हुने भएपछि अब सो विद्यालयका एक जना शिक्षकलाई अन्यत्र काज सरुवा गर्ने तयारी भएको उहाँले बताउनुभयो । साभार गोरखापत्र