काठमाडौं, भाद्र २८ गते । 

विज्ञान र प्रविधिमा सामाजिक सञ्जालनकाे प्रयोग बढेसँगै साइबर अपराध पनि बढेको छ । ठगी गर्ने मनसायले सामान्य कुरा गर्ने र भिडियो कल गर्ने, त्यसपछि अश्लील दृश्य मिसाएर ब्ल्याक मेल गर्ने गरेको पाइएको छ । यस्ता समूहबाट सचेत हुन साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी पशुपतिकुमार राईले बताउनुभयो ।

भिडियो कल रिसिभ गर्नासाथ अनुहार कट गर्ने र अश्लील दृश्य मिसाएर परिवार तथा आफन्तलाई पठाउँछु भनी धम्क्याउने र पछि आर्थिक लाभ खोज्ने गर्दछन् । उहाँले भन्नुभयो, ‘कुनै पनि अपरिचित मानिसले गरेको भिडियो कल उठाउनु हुँदैन, सकेसम्म नचिनेका व्यक्तिहरुको म्यासेजको प्रतिक्रिया पनि नजनाउनु उचित हुन्छ ।’

अहिले दैनिक २५ देखि ३५ वटासम्म साइबर ब्यूरोमा उजुरी पर्ने गरेको छ । साइबर ब्यूरो स्थापना भएदेखि हालसम्म सबैभन्दा धेरै एक दिनमा ६८ वटासम्म उजुरी दर्ता भएको रेकर्ड छ । ब्यूरोमा देशभरबाट उजुरी आउने हुँदा उजुरीको सङ्ख्या धेरै हुन्छ ।

साइबर सम्बन्धी घटना जटिल हुने भएकाले अनुसन्धान गर्न पनि समय लाग्ने गरेको ब्यूरोका प्रशासन प्रमुख राजकुमार खड्गीले बताउनुभयो । उहाँका अनुसार अहिले सोचेभन्दा तीव्र गतिमा साइबर अपराध बढेको छ । धेरै जसो प्रयोगकर्ता साइबरसम्बन्धी अनविज्ञ रहेकाले पनि फस्ने गरेका छन् ।

जटिल भएपछि उजुरीको बाध्यता साइबरसम्बन्धी कानुन रहेको थाहा नभएका प्रयोगकर्ताहरु नेपालमा धेरै रहेकाले जे पनि गर्ने र अन्तिममा फस्ने गरेका छन् । खड्गीले भन्नुभयो, ‘जब फस्छन् अनि मात्रै थाहा हुन्छ । यस्ता कुरालाई मनोरञ्जनका साधन ठान्ने सोच अझै धेरैमा छ, मानिसहरु अनविज्ञ छन् ।’ यसले के हुन्छ भन्ने पनि थाहा नहुँदा उनीहरु फस्छन् । अवस्था जटिल भएपछि उजुरी गर्नुपर्ने बाध्यता हुन्छ ।

उहाँका अनुसार अर्को थरी मानिसहरु जानेर कम्प्युटर, इन्टरनेटको माध्यमबाट साइबर अपराध गर्छन् । जस्तो : वेभसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत् व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृतरुपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति, जालसाजी जस्ता अपराध गर्छन्र साइबर अपराधमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेसँग सम्बन्धित आपराधिक गतिविधिहरू पर्छन् ।

अहिले नेपालमा इन्टरनेटको प्रयोग एकदमै बढेको छ । इन्टरनेटले एकतर्फ मानिसलाई जोडेको छ भने अर्कोतर्फ टाढा बनाएको छ । पछिल्ला केही घटनाहरु हेर्ने हो भने नेपालको साइबर स्पेस खतरामा परेको छ ।

साइबर समस्याको मुख्य कारण इन्टरनेट तथा कम्प्युटर प्रयोगकर्तामा साइबर थ्रेटबारे आधारभूत जानकारी नहुनु नै हो । जसले साइबर सुरक्षाको चुनौती बढ्दै गएको उहाँको भनाइ छ । साइबर अपराधका घटनाको अनुसन्धान र कारबाही विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत हुन्छ ।


नेपालभर साइबर क्राइमको मुद्दा हेर्ने एक मात्र काठमाडौं जिल्ला अदालत हो । साइबर ब्यूरो गठनको प्रक्रिया अघि बढेको छ । यो प्रक्रिया पूरा भएपछि सातै प्रदेशमा साइबर ब्यूरो खुलेपछि मात्रै नेपालभर उजुरी दिन सकिने हुन्छ । 

सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी आफ्नो स्वार्थ पूर्ति गर्नेहरूको बिगबिगी छ । अझ केही मानिसका लागि त सामाजिक सञ्जाल नकारात्मकता फैलाउने महत्त्वपूर्ण क्षेत्र बनेको उहाँकाे भनाइ छ । ‘मान्छेको भावनामा खेलेर होस् या ब्लाकमेल गरेर होस्, साइबर दुरुपयोग बढेको छ ।’ उहाँले भन्नुभयो । उहाँका अनुसार यसको नकारात्मक प्रभावमा बालबालिका तथा युवा धेरै छन् ।


 

सामाजिक सञ्जालमा विभिन्न कुरा पोष्ट गरेर सम्पर्कविहीन हुने मानिसको सङ्ख्या कम छैन । खड्गीले भन्नुभयो, ‘ यस्तो केसमा आफन्त, नजिकको मानिसलाई कति तनाव हुन्छ । उनीहरूले कसलाई भन्ने साइबर ब्यूरोमा खबर गर्छन् । ब्यूरोको पहलमा ४० जनाको ज्यान बचेको रेकर्ड छ ।’ साइबर चेतनाकै कमीले पछिल्लो समय अपराध निरन्तर बढिरहेको छ । साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारको अपराध हो ।

नेपालमा यसको इतिहास हेर्ने हो भने आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ११ हजार ५४८ वटा घटनाको उजुरी दर्ता भएको ब्यूरोको तथ्याङ्क छ । यो अवधिमा फेसबुक/म्यासेन्जरबाट भएको घटनाको उजुरी २०७६/०७७ मा दुई हजार २५०, २०७७/०७८ मा तीन हजार ३५१, २०७८/०७९ मा तीन हजार ३५६ र चालु आर्थिक वर्षको अहिलेसम्म ४४७ वटा गरी जम्मा १० हजार १४७ उजुरी साइबर ब्यूरोमा परेको छ ।

साइबरबाट भएको घटनाको उजुरी २०७६/०७७ मा चार, २०७७/०७८ मा चार, २०७८/०७९ मा तीन, र चालु आर्थिक वर्षको अहिलेसम्म दुई वटा गरी १३ उजुरी परेको छ । आइएमओबाट घटनाको उजुरी २०७६/०७७ मा तीन, २०७७/०७८ मा १७, २०७८/०७९ मा १८ र चालु आर्थिक वर्षको अहिलेसम्म २ वटा गरी जम्मा ४० वटा साइबर ब्यूरोमा उजुरी परेको छ ।

यूट्युबबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ८ वटा, २०७७/०७८ मा ५६, २०७८/०७९ मा ६० र चालु आर्थिक वर्षको अहिलेसम्म ५ वटा गरी जम्मा १२९ उजुरी साइबर ब्यूरोमा परेको छ । ह्वाट्सएपबाट भएको घटनाको उजुरी २०७६/०७७ मा दुई, २०७७/०७८ मा ४७, २०७८/०७९ मा ९६ र चालु आर्थिक वर्षको अहिलेसम्म २३ वटा गरी जम्मा १६८ उजुरी साइबर ब्यूरोमा परेको छ ।

ट्वीटरबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ५, २०७७/०७८ मा १५, २०७८/०७९ मा १७ र चालु आर्थिक वर्षको अहिलेसम्म ४ वटा गरी जम्मा ४१ उजुरी साइबर ब्यूरोमा परेको छ । इन्स्टग्रामबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ७, २०७७/०७८ मा ६५, २०७८/०७९ मा ७६ र चालु आर्थिक वर्षको अहिलेसम्म ४५ वटा गरी जम्मा १९३ उजुरी साइबर ब्यूरोमा परेको छ । दाता वेभसाइट हायकिङ्गबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ३, २०७७/०७८ मा २८, २०७८/०७९ मा १२ र चालु आर्थिक वर्षको अहिलेसम्म २ वटा गरी जम्मा ४५ उजुरी साइबर ब्यूरोमा परेको छ ।

टिकटकबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ४, २०७७/०७८ मा ७०, २०७८/०७९ मा २३३ र चालु आर्थिक वर्षको अहिलेसम्म ५२ वटा गरी जम्मा ३५९ उजुरी साइबर ब्यूरोमा परेको छ । इमेलबाट भएको घटनाको उजुरी २०७६/०७७ मा उजुरी परेको छैन । २०७७/०७८ मा २९, २०७८/०७९ मा २३ र चालु आर्थिक वर्षको अहिलेसम्म ७ वटा गरी जम्मा ५९ उजुरी साइबर ब्यूरोमा परेको छ ।

ई–सेवाबाट भएको घटनाको उजुरी २०७६/०७७ मा उजुरी परेको छैन । २०७७/०७८ मा २८, २०७८/०७९ मा ६५ र चालु आर्थिक वर्षको अहिलेसम्म १५ वटा गरी जम्मा १०८ उजुरी साइबर ब्यूरोमा परेको छ ।


 

बैंकिङ्गबाट भएको घटनाको उजुरी २०७६/०७७ मा १५, २०७७/०७८ मा ९६, २०७८/०७९ मा १२७ र चालु आर्थिक वर्षको अहिलेसम्म ८ वटा गरी जम्मा २४६ वटा साइबर ब्यूरोमा उजुरी परेको छ । यी उजुरीमध्ये केही अनुसन्धानकै क्रममा रहेको छ । धेरै जसो उजुरीको समाधान भइसकेको उहाँले बताउनुभयो ।

-गोरखापत्र