बुटवल। रुपन्देहीको बुटवलस्थित नेपालगन्ज रोड क्षेत्रमा सञ्चालन भइरहेको एक पसलबाट नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट छ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ की ३६ वर्षीया गङ्गाकुमारी, पोखरा महानगरपालिका–१ का किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तु बाणगङ्गा नगरपालिका–१ का सञ्जय थारू, भक्तपुर चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका–४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बङ्गाल राज्य, सिलिगुडी भक्तिनगर थाना निवासी ४९ वर्षीय वासुमित्र आनन्दरहेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार विशेष सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट बरामद गरिएको हो, जसको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ बराबर रहेको छ।
प्रहरीले घटनास्थलबाट फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने विशेष कागज, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ (केमिकल), प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार बरामद भएका उपकरणहरू नक्कली नेपाली मुद्रा उत्पादनका लागि प्रयोग भइरहेको आशंका गरिएको छ। प्रहरीले बरामद सामग्रीको प्राविधिक परीक्षण तथा अभियुक्तहरूको आपसी संलग्नता, सम्भावित सञ्जाल र नक्कली नोटको वितरण प्रणालीबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेका सबैलाई मुद्रासम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखिएको छ। यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नक्कली मुद्रा उत्पादन तथा कारोबारले मुलुकको वित्तीय प्रणाली, आर्थिक स्थायित्व र सर्वसाधारणको विश्वासमा प्रत्यक्ष असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध प्रहरीको निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको प्रहरीको भनाइ छ।

प्रतिकृयाहरु